काठमाडौं । दुई महिनामै जेनजीहरू प्रधानमन्त्री सुशीला कार्कीसँग असन्तुष्ट बनेका छन् । जेनजी विद्रोहको बलमा प्रधानमन्त्री बनेकी कार्कीले आन्दोलनको अपेक्षा पूरा गर्न नसकेको भन्दै उनलाई फिर्ता बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष माग गरिएको छ ।

दुई दर्जन जेनजी समूहले कार्कीलाई फिर्ता बोलाउन बिहीबार राष्ट्रपति पौडेलसँग माग गरेका हुन् । आज राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाउँदै विभिन्न २३ जेनजी समूहले कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाई आफूहरुको नेतृत्वमा नयाँ सरकार गठनको माग गरेका हुन् ।

ADVERTISEMENT

सरकारले विद्रोहीका न्यूनतम अपेक्षासमेत पूरा गर्न नसकेको र एक थान चुनाव गराउन मात्र लागिपरेको उनीहरुको आरोप छ । ‘विद्रोही पक्षका माग पूरा गर्न सक्दैन भने यो सरकारलाई फिर्ता बोलाई हाम्रो नेतृत्वमा नयाँ सरकार गठनको लागि मध्यस्थताको भूमिका निर्वाह गर्न सम्मानीयज्यूसमक्ष निवेदन गर्दछौं,’ मागपत्रमा भनिएको छ ।

जेनजी नेशनल फ्रन्ट लाइनर,जेनजी स्पार्क, एनटेक जेनजी, ऋणी एसोसिएसन नेपाल, जेनजी वाई युनाइटेड, जेनजी सभा, जेनजी पार्लियामेन्ट, जिबिबि ग्रुप, जियूपिसि ग्रुप, जेबाइएन ग्रुप, जेनजी युनाइटेड, जेनजी २.०, रियल जेनजी, जेनजी वाई ग्रुप, जेनजी एलायन्स, नेपाल जेनजी रिभ्युलेन्स, इक्वीटी नेपाल, समता जेनजी, अल नेशन जेनजी, स्वतन्त्र जेनजी नेपाल, डिजिटल टास्क फोर्स जेनजी ग्रुप, जेनजी एकता मञ्च र जेनजी मुभमेन्ट नेपालले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

ADVERTISEMENT