काठमाडौं । पूर्वप्रधानमन्त्री एवं हालका सत्ता पक्षका नेता केपी शर्मा ओलीविरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दामा जाहेरी दर्ता गरिएको छ।
जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिका–२ निवासी ४३ वर्षीय अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा पेश गरेको जाहेरीमार्फत ओलीमाथि गम्भीर आरोप लगाइएको हो। जाहेरी जिल्ला प्रशासन कार्यालय कपिलवस्तु तौलिहवामार्फत दर्ता गरिएको छ। जाहेरीकर्ता पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेसका सांसद भएको बुझिएको छ।
शाहले जाहेरीमा २०८२ साल भदौ २३ गते नयाँबानेश्वर क्षेत्रमा शान्तिपूर्ण आन्दोलनका क्रममा युवाहरूलाई नियन्त्रण गर्न ओलीले प्रत्यक्ष आदेश दिएको र त्यसैका आधारमा सुरक्षाकर्मीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको दाबी गरेका छन्।
जाहेरीमा मारिएका मध्ये २१ वर्षीय सुलभराज श्रेष्ठ, १९ वर्षीय यम चौलागाईं, ४२ वर्षीय बुद्धि तामाङ, ३४ वर्षीय विनोद महर्जन, ४२ वर्षीय दिल नारायण तामाङ, १८ वर्षीय मिसल सारु मगर, ४५ वर्षीय पारुहाङ उतमल राई, २४ वर्षीय योगेन्द्र प्रविन कुलुङ, २१ वर्षीय उमेश महत, १७ वर्षीय निता गौतम, २१ वर्षीय शौरभ किशोर श्रेष्ठ, २८ वर्षीय सुवास बोहोरा, निरज पन्त लगायतका प्रदर्शनकारीको ज्यान गएको उल्लेख छ।
जाहेरीमा आन्दोलन प्रजातान्त्रिक अधिकार अन्तर्गत भएको शान्तिपूर्ण गतिविधि भएको दाबी गर्दै, गोली प्रायः संवेदनशील अंगमा प्रहार गरिएको र अन्य धेरै घाइते रहेको पनि उल्लेख छ। शाहले अनुसन्धान गरी घटनामा संलग्न अन्य व्यक्तिहरूलाई समेत प्रतिवादी बनाई कानुनबमोजिम सजाय दिलाउन माग गरेका छन्।
उक्त जाहेरीसँगै मृतकको पोष्टमार्टम रिपोर्ट, वस्तुस्थिति मुचुल्का लगायत प्रमाणहरूलाई समेत आधार मान्न प्रहरीसँग आग्रह गरिएको छ।
प्रहरीले जाहेरी दर्ता भइसकेको र यस सम्बन्धमा अनुसन्धान अघि बढाइने जनाएको छ।






