काठमाडौँ । सोसलिष्ट इन्टरनेसनलले कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा. आरजु राणा देउवामाथि भएको सांघातिक हमलाको निन्दा गरेको छ ।

विश्वका ८३ देशका ९१ वटा राजनीतिक पार्टी सदस्य रहेको सोसलिष्ट इन्टरनेसनलले वक्तव्यमार्फत जेनजीको प्रदर्शनका क्रममा भदौ २४ गते देउवा दम्पतीलगायत राजनीतिक व्यक्तित्वमाथि भएको भौतिक हिंसाको निन्दा गरेको हो । सोसलिष्ट इन्टरनेसनलका अध्यक्ष पेद्रो साञ्चेज पेरेज–कास्तेजोनले वक्तव्य जारी गर्दै उक्त घट्नाक्रमबारे चिन्ता व्यक्त गरेका हुन् ।

जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सोसलिष्ट इन्टरनेसनलले प्रजातान्त्रिक व्यवस्थाअनुसार ढिलाइ नगरी शान्तिपूर्ण संवादबाट निकास हुने अपेक्षाका साथ यस चुनौतीपूर्ण क्षणमा आफ्नो सदस्यसमेत रहेको कांग्रेस पार्टीप्रति ऐक्यबद्धता जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बुढानिलकण्ठ निवास पुगेको भीडले देउवा दम्पतीलाई मरणासन्न हुने गरी कुटपिट गर्दै घरमा आगो लगाएर ध्वस्त बनाएको थियो । प्रदर्शनकारीले देउवा निवासबाट बहुमूल्य सुन, हीरा, मोतीका गरगहना, नेपाली र विदेशी मुद्रा चोरेर लगेका थिए ।