काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल संसद् विघटनको विपक्षमा उभिएका छन् । दुवैले आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन अपिल गरेका छन् ।

शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै घिमिरे र दाहालले अहिलेको संकटको निकास विधिको शासन र संविधानवादबाट बाहिर गएर खोज्न नहुने जनाएका छन् । देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता,नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता,राष्ट्रिय एकता र स्वाधिनतालाई शिरोपन गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरेको उनीहरूको भनाइ छ ।

‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ । यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले जेन–जीको आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । दुई दिने जेनजी आन्दोलनका क्रममा संसद् भवन जलाइएको छ । जसकारण संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

जेनजी आन्दोलनकारीले संसद् विघटनलाई प्रमुख माग राखेका छन् । खासमा आन्दोलनको समयमा संसद् विघटन माग नै थिएन । तर जब काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेनले संसद् विघटन पहिलो सर्त राखे त्यसपछि जेनजी संसद् विघटन हुनुपर्ने अडानमा छन् ।