जनतामा अहिले सर्वसाधारण चासोको विषय बनेको छ—जेनजीको प्रतिनिधि को हुन्? यसै बीच, विभिन्न समूहले राष्ट्रपति पौडेलबाट आह्वान भएको सन्देशको अनुपालन गर्दै आफूलाई जेनजीको प्रतिनिधि भनेर प्रस्तुत गर्दै छलफलका लागि सम्पर्कमा आएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोलि हुने औपचारिक वार्ताको तयारीका रूपमा प्रधानसेनापति अशोक सिग्देलले मध्यराति केही जेनजी प्रतिनिधिलाई जंगीअड्डामा बोलाएका छन्।
कार्यालयको विज्ञप्तिपछि जेनजीका विभिन्न समूहका युवाहरूले सम्पर्क गरेका थिए। ‘तर धेरै संख्यामा विभिन्न व्यक्तिहरुले सम्पर्क गर्नुभयो, कसरी व्यवस्थापन गर्ने भन्ने विषय समेत अफ्ठ्यारो हुने देखियो,’ एक अधिकारीले बताए। त्यसैले छलफल विभिन्न चरणमा गरेर पहिले सबैको कुरा सुन्ने निर्णय गरिएको छ।
स्रोतका अनुसार, मध्यराति सुरु हुने वार्तामा नयाँ सरकार गठनदेखि भावी प्रक्रिया लगायतका विषयमा जेनजी प्रतिनिधिहरूले आफ्ना सरोकार ब्यक्त गर्नेछन्। ‘अहिले उहाँहरुको कुरा सुनेपछि भोलि औपचारिक वार्तामा बस्न सहज हुन्छ भन्ने पनि हो,’ स्रोतले थपे।
हालसम्म, हुने छलफलमा को–को उपस्थित हुने भन्ने कुरा सार्वजनिक भएको छैन। ‘भोलि राष्ट्रपतिको उपस्थितिमा निर्णायक संवाद हुने भएकाले पनि अहिले कोही छुटे पनि क्रमशः सबै समूहलाई समेट्ने गरी कुराकानी हुन्छ,’ स्रोतले जानकारी दिएका छन्।





