काठमाडौं । जेनजी पुस्ताको आन्दोलनसामु सरकारले घुँडा टेकेको छ । सोमबार दिउँसोदेखि सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध खुलेको छ ।
जेनजी पुस्ताको आन्दोलनले सरकारकै वैधता सकिएको भन्दै प्रधानमन्त्रीकै राजीनामा मागेपछि सरकारले प्रतिबन्ध लगाइएको सामाजिक सञ्जाल खुला गरेको हो ।
प्रधानमन्त्री केपी ओलीले सोमबार मन्त्रिपरिषदको बैठक बोलाएका थिए । बैठकले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्नेछ । तर त्यसअघि नै नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक कम्पनीको आइपिएस खुला गरेपछि फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल एक्टिभ देखिएका छन् । मोबाइलमा मात्र सामाजिक सञ्जालका प्लेटफर्म खुला भएका छन् । कम्प्युटरमा भने अझै पनि निष्क्रिय नै छन् ।
तर जेनजी पुस्ताको आन्दोलन अझै रोकिने छाँट देखिएको छैन । सुरक्षाकर्मीको गोली प्रहारबाट अनाहकमा चारजनाले ज्यान गुमाउनु परेपछि सरकारविरुद्ध जनआक्रोश बढ्दो छ ।





