काठमाडौं । राजधानीको नयाँबानेश्वरस्थित संसद भवन वरिपरि जेनजी (Gen Z) को आन्दोलन आज साँझ झन् उग्र बनेको छ। माइतीघर र तीनकुनेबाट अघि बढेका प्रदर्शनकारीहरुले प्रहरीको अवरोध तोड्दै संसद भवनसम्म पुगेर तीनैवटा मुख्य ढोका कब्जा गरेका छन्।

अपरान्हदेखि नै हजारौं संख्यामा भेला भएका प्रदर्शनकारीले पुराना राजनीतिक दलहरुले संस्थागत गरेको भ्रष्टाचार, कुशासन र बेरोजगारीविरुद्ध नाराबाजी गर्दै संसद भवन घेराबन्दी गरेका थिए। प्रहरीको बारम्बारको असुर ग्यास प्रहार र लाठीचार्जलाई बेवास्ता गर्दै उनीहरु भवनको गेट चढेर भित्र प्रवेश गरेका थिए।

ADVERTISEMENT

स्थिति नियन्त्रणबाहिर गएको भन्दै प्रशासनले दिउँसो १२:३० बजेबाट राति १० बजेसम्मका लागि नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो। तर, आदेशको अवज्ञा गर्दै जेनजीहरुले संसद भवन कब्जा गरेपछि अवस्था थप संवेदनशील बनेको छ।

ADVERTISEMENT

प्रहरीले भीड नियन्त्रण गर्न चेतावनीसहित गोली प्रहार गरेको पुष्टि भएको छ। तर, घाइते वा क्षतिको विवरण अझै स्पष्ट हुन बाँकी छ।

यसअघि अश्रुग्याँसले पनि नियन्त्रणमा लिन नसकेपछि प्रहरीलाई प्रत्यक्ष गोली चलाउनुपरेको घटनाले आन्दोलन थप जटिल मोड लिने संकेत देखाएको छ। संसद भवन वरिपरि थप सुरक्षा बल परिचालन गरिएको छ भने सम्पूर्ण क्षेत्र पूर्ण नियन्त्रणमा राखिएको प्रशासनले जनाएको छ।