काठमाडौ । सांसदहरूले प्रधानमन्त्री केपी ओलीसँग चीनको सुरक्षा रणनीतिमा समर्थनबारे धारणा माग गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा चीनको सुरक्षा रणनीति (ग्लोबल सेक्युरिटी इनिसियटिभ) मा समर्थन गरेको विषयमा सरकारको धारणा माग गरेका हुन् ।
आकस्मिक समयमा विपक्षी दलका सांसदहरूले ग्लोबल सेक्युरिटी इनिसियटिभमा समर्थन गरेको र प्रमुख विकास साझेदार जापानले आत्मसमर्पण गरेको सम्झनामा आयोजित ‘परेड’मा नेपालको सहभागिता सम्बन्धमा सरकारको धारणा माग गरेका हुन् ।
एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले चिनियाँ पक्षले ग्लोबल सेक्युरिटी इनिसियटिभ (जिएसआई) मा नेपालको समर्थन रहेको र भ्रमण दलमा सहभागी नेपाली अधिकारीको ‘होइन’ भने अभिव्यक्तिबारे सदनलाई स्पष्ट पार्नुपर्ने बताए ।
‘चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भेटपछि चिनियाँ पक्षले जारी गरेको वक्तव्यमा जिएसआईमा नेपालले समर्थन गर्छ भनेर उल्लेख गरिएको छ’, सांसद पाण्डेले भने, ‘प्रधानमन्त्रीको भ्रमण दलका नेता र मन्त्रीले यसमा नेपालको समर्थन छैन भन्दै आउनुभएको देखिन्छ । सत्य के हो यो प्रष्ट हुनुपर्छ ।’
सांसद पाण्डेले नेपालको प्रमुख विकास साझेदार जापानले आत्मसमर्पण गरेको अवसरलाई सम्झना गर्न आयोजित परेडमा प्रधानमन्त्रीले भाग लिनु नेपालले अंगीकार गर्दै आएको असंलगन परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तको विरोधमा भएको बताए । ‘लिपुलेक कालापानी भारत र नेपालबीचको विषय भन्दै चीन पन्छिएको भन्ने विषय बाहिर आएको छ, हामीले सधैँभरि चीनलाई असल छिमेकी मानेका छौँ । भारत र नेपालको मात्र मामिला हो भनेर चीन पन्छिन मिल्दैन’, उनले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा चीनको सुरक्षा रणनीतिमा सहमति जनाएको भन्ने बारेमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराए । ‘यो नेपालले अंगीकार गरेको असंलग्न परराष्ट्र नीतिबाट फरक हो, यदि नेपालले सोसम्बन्धी समर्थन गरेको भए आगामी दिनमा घातक परिणाम निम्तन सक्छ,’ उनले भने, ‘प्रधानमन्त्रीले सदनमा आएर स्पष्ट पार्नुपर्छ ।’
रास्वपाका सांसद अशोककुमार चौधरीले सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेमा आफूहरूको असहमति नरहेको उल्लेख गर्दै त्यस्ता माध्यमलाई नियमनमा ल्याउनुपर्ने बताए । ‘सामाजिक सञ्जाल बन्द गर्ने धम्की दिन हुँदैन, सामाजिक सञ्जाल नियमनसम्बन्धी न्यायालयको फैसला कार्यान्वयन गर्न कूटनीतिक प्रयास गर्नुपर्छ’, उनले भने ।
विपद् व्यवस्थापन र रोग नियन्त्रणमा सरकारको कमजोरी स्पष्ट भएको जनाउँदै सांसद चौधरीले वीरगञ्जमा फैलिएको हैजाको स्रोत पत्ता लगाउन नसक्नु विडम्बना भएको बताए । ‘वीरगञ्जमा हैजा फैलिएको डेढ हप्ता बितिसक्दा पनि स्रोत पत्ता लागेको छैन, जनता त्रासमा छन्, तर सरकार मौन छ’, उनले ।






