काठमाडौँ । देशको समष्टिगत आर्थिक परिसूचकको अवस्था, प्रवृत्ति, सार्वजनिक वित्त परिचालनको अवस्था, राष्ट्रिय गौरबकाका आयोजनको प्रगति स्थिति समस्या र समाधानको विषयमा छलफल गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा जारी रहेको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले १६ वटा विषयहरु बैठकमा प्रस्तुत गरेका छन् ।

जसमा विकासको प्रारुप मोडल परिवर्तन, मध्यमकालीन खर्च संरचना, अतिकम विकसित देशबाट स्तरोन्नति,राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, पूर्वाधार निर्माण, शिक्षा, सीप विकास, क्षमता विकास,वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण,स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्यसम्बन्धी औषधि तथा उपकरण खरिद, पर्यटन, कूटनीतिक नियोगको घरजग्गा खरिद, बहस पैरवी तथा कानुनी प्रतिरक्षा गर्ने व्यवस्था, जनशक्ति व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाह, राष्ट्रिय विकास समस्या समाधान समितिको निर्णय कार्यान्वयन लगायतका विषयहरु प्रस्तुत गरिएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अधिकारीले समष्टिगत आर्थिक परिसूचकको अवस्था र प्रवृत्ति, नेपाल सरकारको सार्वजनिक वित्त परिचालनको अवस्था, सामाजिक तथा पूर्वाधार विकासको अद्यावधिक अवस्था, दिगो विकास लक्ष्य र विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अद्यावधिक स्थिति, राष्ट्रिय गौरबका आयोजना र पहिलो प्राथमिकताका आयोजनाको प्रगति स्थिति, प्रदेशहरुको समष्टिगत आर्थिक अवस्था राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकका निर्णय कार्यान्वयन बारे प्रस्तुतिकरण गरेका थिए ।

बैठकमा अर्थमन्त्री विष्णु पौडेल, सहरी विकासमन्त्री प्रकाशमान सिंह, शिक्षामन्त्री रघुजी पन्तलगायत सबै मन्त्रीहरु, प्रदेश मुख्यमन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, मुख्यसचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु र विशिष्ट श्रेणीका कर्मचारीहरुको उपस्थिति रहेको छ ।