काठमाडौं । प्रधानमन्त्री केपी ओली चीनको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किंदैछन् । उनी चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा चीन गएका थिए ।

प्रधानमन्त्री ओलीलाई बेइजिङस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ उच्च अधिकारीहरू, नेपालका लागि चीनका राजदूत र चीनका लागि नेपाली राजदूतलगायतले बिदाइ गरेका छन् ।

सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली भदौ १४ गते चीनको तियान्जिनतर्फ प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओली बुधबार बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक परेड कार्यक्रममा समेत सहभागी भएका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चीनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलगायत विश्वका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । उनले भदौ १६ गते तियान्जिनमा आयोजना भएको शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए । नेपाल सन् २०१६ देखि एससिओको संवाद साझेदार रहँदै आएको छ ।