काठमाडौं । नेपाल बिमा प्राधिकरणले बिमकले पुनर्बिमा, रेट्रोशेसन र विदेशबाट आयात गर्ने परामर्श सेवा वापत भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा सटही सिफारिस गर्ने कार्यलाई पारदर्शी र व्यवस्थित गर्नका लागि ‘बिमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ ।
प्राधिकरणले बुधबार जारी गरेको बिमकको विदेशी मुद्रा सटही सफारिश सम्बन्धी निर्देशन, २०८२’ मा बिमकले विदेशी बिमक वा पुनर्बिमक वा नेपाल रहेका बिमकमा लगानी गर्ने विदेशी लगानीकर्ता वा बिमकलाई सेवा प्रदान गर्ने विदेशी सेवाप्रदायक संस्थालाई सिधै वा बिमा दलालको संलग्नतामा गरिएको पुनर्बिमासँग सम्बन्धित पुनर्बिमा शुल्क तथा बिमा दाबी रकम, लाभाङ्श फिर्ता र परामर्श सेवा लिए वापतको रकम भुक्तानी प्राधिकरणको सिफारिस लिएर मात्र गर्नुपर्ने गरिएको छ ।
‘बिमकले विदेशी लगानीसँग सम्बन्धित प्रचलित कानून र नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन सम्बन्धमा जारी गरेका निर्देशन समेत पालना गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘पुनर्बिमा शुल्कको विदेशी मुद्रा सटही सिफारिस माग गर्दा ट्रिटि पुनर्बिमा वा रेट्रोशेसन र ऐच्छिक (फ्याकल्टेटिभ) पुनर्बिमा वा ऐच्छिक फ्याकल्टेटिभ रेट्रोशेसन पुनर्बिमाका लागि तोकिए बमोजिमका कागजातहरु प्राधिकरणमा पेश गर्नुपर्ने छ ।’
निर्देशनमा विदेशी बिमक वा विदेशी ब्रोकरलाई बिमाको दाबी वापतको भुक्तानी गर्दा ट्रिटी वा फ्याकल्टेटिभ हिसाव–किताव मिलान गरी तोकिए बमोजिमका कागजात संलग्न गरी प्राधिकरणमा पेश गर्नुपर्ने, बिमकले बिमाङ्कीको पारिश्रमिक, विशेषज्ञ सेवा, क्रेडिट रेटिङ्ग सेवा तथा परामर्श सेवा शुल्क, विदेशी सर्भेयरको पारिश्रमिक, सफ्टवेयर सम्बन्धी भुक्तानी र तेस्रो पक्ष सहजकर्ताका लागि निर्देशनमा तोकिएका कागजातहरु संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।






