काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघ अध्यक्षमा दिवान चन्द निर्वाचित भएका छन् । आइतबार पोखरामा भएको संघको ३०औं वार्षिक साधारणसभा एवं १२औं अधिवेशनमा हिमालयन पेट्रो केमिकल्स प्रालिका सञ्चालकसमेत रहेका चन्दले ३३ मत प्राप्त गर्दै अध्यक्षमा चयन भएका हुन् ।
संघ अध्यक्ष बाहेकका पदमा भने सर्वसम्मत पदाधिकारी तथा कार्यसमिति सदस्यहरु चयन भएका छन् । अध्यक्ष पदका लागि भएको निर्वाचनमा निर्वाचित चन्दका निकटतम प्रतिस्पर्धी उग्रचण्डी ग्यासका सञ्चालक कृष्ण भक्त श्रेष्ठले १७ मतमात्र प्राप्त गरेका थिए ।
संघमा कुल ५७ उद्योग सदस्य रहेकामा मतदानमा ५० मतदाताले मात्र सहभागिता जनाएका थिए ।
संघको १४ सदस्यीय कार्यसमितिको निवर्तमान अध्यक्षमा शिवप्रसाद घिमिरे, वरिष्ठ उपाध्यक्षमा बाबा ग्यासका सुरेन्द्रराज पौडेल, उपाध्यक्षमा गृहलक्ष्मी ग्यासका धर्मराज बर्तौला, कावसनस इन्डट्रिजका आशीष अग्रवाल (जाजोदिया) निर्वाचित भएका छन् ।
त्यसैगरी महासचिवमा चण्डेश्वरी ग्यास कम्पनीका अमित अग्रवाल, कोषाध्यक्षमा श्रीराम ग्यास उद्योगका आयुष नेपाल, सचिवमा प्रिमा ग्यास उद्योगका सुदीप घिमिरेलगायत निर्वाचित भएका छन् ।





