काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १ हजार २५० थान भरिएका एलपी ग्यास सिलिन्डर उपलब्ध गराउने भएको छ।
संघका अध्यक्ष दिवानबहादुर चन्दले बाढी प्रभावितका लागि उक्त सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। विपद् कसैको एक्लो समस्या नभई सबैको साझा जिम्मेवारी भएको भन्दै प्रभावित नागरिकको तत्कालीन आवश्यकता र कठिनाइलाई ध्यानमा राखेर सहयोग गर्न लागिएको उनले बताए।
संघले उपलब्ध गराउने ग्यासका भरिएका सिलिन्डर नेपाल आयल निगममार्फत लक्षित वर्गसम्म पुर्याउने गरी वितरण गरिनेछ।
भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा भएको जनधनको क्षतिप्रति संघले दुःख व्यक्त गरेको छ।
विपद्को कठिन परिस्थितिमा विभिन्न निकाय मानवीय सहयोगमा जुटिरहेका बेला संघले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत राहत सामग्री उपलब्ध गराउन लागेको जनाएको छ।






