काठमाडौं । एकीकृत समाजवादीमा पछिल्लो समय अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच असमझदारी बढेको छ । उनीहरू सार्वजनिक रुपमै एक अर्काका अभिव्यक्तिको खण्डन गरिरहेका छन् ।
यसैक्रममा खनाल र महासचिव घनश्याम भुसालसहितका नेताहरु छलफलमा जुटेका छन् । पछिल्लो समय पार्टी अध्यक्ष नेपालसँगको सम्बन्ध चिसिँदै गएको चर्चा चलिरहेकै बेला उनीहरु बानेश्वर क्याम्पसमा भेला भएका हुन् । पार्टी कार्यालय नजिकै हुँदाहुँदै यसरी छुट्टै ठाउँमा बैठक आयोजना गरिनुले आन्तरिक द्वन्द्व थप चर्किन सक्ने कतिपयको अनुमान छ ।
पार्टीको आगामी केन्द्रीय कमिटी, स्थायी कमिटी लगायतका बैठकहरूको एजेण्डा तय गर्न नेताहरू छलफलमा जुटेको नेताहरुको भनाइ छ । भेला पूर्वमन्त्री तथा पार्टीका पूर्वसचिव जीवनराम श्रेष्ठको अगुवाइमा भएको बताइएको छ ।
भेलामा उपाध्यक्ष जयन्ती राई, उपमहासचिव गरिमा शाह, पूर्वमन्त्री तथा स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेशका पूर्वमन्त्री लक्ष्मण लम्साल, युवा संघका पूर्व अध्यक्ष तथा पोलिट्व्युरो सदस्य नरेशकुमार शाही, केन्द्रीय सदस्य सुशील भट्टराई, केन्द्रीय सदस्य मनाकुमारी साउदलगायतको उपस्थिति छ ।
बैठकमा डा.विजय पौडेल, केदार सञ्जेल, धर्मराज निरौला, हिरेन्द्र शाहीलगायत सहभागी छन् । सहभागी नेताहरूले यो छलफललाई अनौपचारिक भनेका छन् ।
धेरैले पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष नेपाल मुछिएकाले उनलाई हटाउनेबारे छलफल सुरु भएको बताउने गरेका छन् । खनालले यसअघि नै नेपाललाई अध्यक्षबाट राजीनामा दिन भनिसकेका छन् । पतञ्जली प्रकरणमा माधवको सांसद पद निलम्बनमा छ ।








