काठमाडौं । एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच शुक्रबार एकता घोषणा भएको छ। लामो समयसम्मको रस्साकस्सीबीच दुई पार्टीबीच एकता भएको हो ।
राष्ट्रिय सभा गृहमा एकता घोषणापछि वामदेव गौतमले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसँग अंकमाल गरी खुसी साटेका छन्। कार्यक्रममा एकता राष्ट्रिय अभियानका केन्द्रीय सदस्यहरुलाई माधव र वामदेव दुवैले स्वागत गरेका थिए।
गौतमले एकीकृत समाजवादीसँगको एकता प्रयास चार वर्षपछि सफल भएको बताए। उनले एकता घोषणा हुँदा आफू शब्दमा बयान नै गर्न नसक्नेगरी खुशी भएको बताएका थिए। त्यही भाव उनले नेताहरूसँग खुसी साटासाट गर्दा गरेका अंकमालमा पनि देखिएको छ। एकीकृत समाजवादीमा गौतमलाई खनालपछि वरिष्ठ नेताको जिम्मेवारी दिइनेछ । पहिले पनि वामदेव र माधवबीच एकताको कुरा फाइनल भएको थियो । तर एमाले अध्यक्ष केपी ओलीले वामदेवलाई अल्मल्याएपछि भाँडिएको थियो ।
वामदेव गौतमलाई पार्टीमा भित्र्याएपछि माधव नेपालले एमालेसँग अहिले कुनै एकताको सम्भावना नरहेको बताए । एमालेमा विभिन्न किसिमका गतिविधि बढिरहेको भन्दै नेपालले यस्तो बताएका हुन् । उनले एकीकृत समाजवादी पार्टीलाई सिध्याउन एमाले लागिपरेको भन्दै आक्रोश पनि व्यक्त गरे ।








