थियानजिन। शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज नानकाइ जिल्लास्थित चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ। चिनियाँ क्रान्तिका नेता चाउ एनलाई चीनका पूर्वप्रधानमन्त्री हुन्।

तस्बिर : चाउ एनलाई स्मृति सङ्ग्रहाल
अवलोकनमा प्रधानमन्त्री ओलीसँग प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन लगायत सहभागी थिए।
प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएका छन्।






