काठमाडौं । नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी राजधानीमा सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एक कार्यक्रमबीच प्रदर्शनीको उद्घाटन गर्नुभयो।

यो प्रदर्शनी मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स, एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रा.लि. तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर एण्ड इम्पोर्टर्स एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा भइरहेको हो। साथै, नेपाल विद्युत् प्राधिकरण र नेपाल सौर्य विद्युत् उत्पादक संघ यस प्रदर्शनीका सहयोगी संस्था रहेका छन्।

मिडिया स्पेस सोलुसन्स नेपालका अध्यक्ष श्रीजल भट्टराईका अनुसार यो प्रदर्शनी चौथो पटक आयोजना गरिएको हो। यसपटक स्वदेशी तथा विदेशी कम्पनीका १५० भन्दा बढी स्टलहरू रहेका छन्, जसमा नवीनतम प्रविधियुक्त उत्पादन र उपकरण प्रदर्शनमा राखिएका छन्।

स्टलहरूमा ट्रान्समिसन तथा डिस्ट्रीब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, केबल, कन्डक्टर, अत्याधुनिक स्वीच, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, चार्जिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि र अन्य विद्युतीय सामग्री प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ।

नेपालमा बढ्दो जलविद्युत उत्पादनलाई प्रभावकारी रूपमा खपत बढाउने, विद्युतीय उपकरण आयातमा प्रतिस्थापन गर्ने तथा ऊर्जा व्यवसायलाई सबल बनाउन योगदान पुर्‍याउने उद्देश्यले यो प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनीले नेपालमा प्रविधि हस्तान्तरण, व्यवसाय विस्तार र उपभोक्तालाई नयाँतम उत्पादनसँग प्रत्यक्ष सम्पर्क गराउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी