काठमाडौं । गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको चलचित्र ‘मालती मंगले’ बिहीबार शुभ मुहूर्त गरिएको छ ।
रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानर र युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रको आज कोटेश्वर महादेवस्थान मन्दिरमा शुभ मुहूर्त भएको हो ।
भदौ १४ गतेदेखि छायांकन सुरु हुने ‘मालती मंगले’ मा विजय बराल, वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेशजंग ठकुरी, रिजन परियार, सागर भट्टराईलगायत कलाकार छन् ।
चलचित्रमा पटकथा तथा संवाद लेखन संयोग गुरागाईंको छ । मालती मंगलेलाई प्रकु पाण्डेयले निर्देशन गर्न लागेका छन्। ‘मालती मंगले’ स्व.माधवप्रसाद घिमिरेको चर्चित गीति नाटक हो ।
दुई दशकपछि रामकृष्ण ढकाल चलचित्र क्षेत्रमा फर्किएका हुन् । उनले दुई दशकअघि गोपाल कर्माचार्यले बनाएको ‘आशीर्वाद’ चलचित्रमा मुख्य भूमिका निभाएका थिए ।






