ललितपुर। फोनपेले आफ्ना साझेदार बैंकहरूसँग सहकार्य गर्दै नयाँ क्रेडिट कार्ड प्रयोगकर्तामाझ विशेष क्यासब्याक अभियान सुरु गरेको छ। यस अन्तर्गत, नयाँ प्रयोगकर्ताले फोनपे क्रेडिट कार्डमार्फत गरिएको कारोबारमा ५० प्रतिशतसम्म (अधिकतम रु. ५००) क्यासब्याक प्राप्त गर्नेछन्।
फोनपेद्वारा साझेदार बैंकहरूसँग मिलेर नयाँ क्रेडिट कार्ड प्रयोगकर्तामाझ विशेष क्यासब्याक योजना सुरु।
कार्ड प्रयोग गर्दा कारोबारमा ५०% सम्म (अधिकतम रु. ५००) क्यासब्याक प्राप्त हुने।
अभियानमा सिटिजन्स, एभरेष्ट, महालक्ष्मी, कुमारी, लक्ष्मी सनराइज, गरिमा र शाइन रेसुङ्गा बैंक सहभागी।
मोबाइल बैंकिङ एपमार्फत सेकेन्डमै कार्ड जारी, नेपालभर १७ लाखभन्दा बढी QR व्यापारीहरूमा भुक्तानी सम्भव।
यस अभियानमा सिटिजन्स इन्टरनेशनल बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, गरिमा विकास बैंक र शाइन रेसुङ्गा विकास बैंक सहभागी रहेका छन्। अभियान आजदेखि लागू हुनेछ।

गत वर्ष सुरु गरिएको फोनपे क्रेडिट कार्डले छोटो अवधिमै उल्लेखनीय सफलता हासिल गरेको छ। एक वर्षमै यसका प्रयोगकर्ता १२ हजार नाघिसकेका छन्। कार्ड साझेदार बैंकहरूको मोबाइल बैंकिङ एपमार्फत सेकेन्डमै जारी हुन्छ, जसले फारम भर्ने झन्झट र कुर्नुपर्ने समय हटाइदिएको छ। कार्ड एक्टिभेट गरेपछि प्रयोगकर्ताले नेपालभरका १७ लाखभन्दा बढी फोनपे क्युआर (QR) युक्त पसलहरु तथा संस्थाहरुमा भुक्तानी गर्न सक्ने सुविधा पाउँछन्।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारका अनुसार , “विकसित मुलुकहरूमा क्रेडिट कार्ड दैनिकीको हिस्सा भइसकेको छ। फोनपे क्रेडिट कार्डमार्फत हामी पनि हरेक नेपालीलाई आधुनिक र लाभदायक वित्तीय उपकरण उपलब्ध गराउन चाहन्छौं। क्यासब्याक अभियानले ग्राहकलाई पहुँच मात्रै होइन, वास्तविक फाइदा दिने हाम्रो प्रतिबद्धता झल्काउँछ।”
फोनपे नेपाल राष्ट्र बैंकबाट नियमन भएको पहिलो मोबाइल भुक्तानी नेटवर्क हो, जसले अन्तर–बैंक P2P र P2M कारोबारलाई सहज बनाउँदै आएको छ। फोनपे क्रेडिट कार्ड भने पूर्णतया डिजिटल सुविधा हो, जसले QR स्क्यानमार्फत भुक्तानी गर्न सकिन्छ। यसमा ४५ दिनसम्म ब्याज तिर्नुनपर्ने क्रेडिट र लचिलो भुक्तानी विकल्पको सुविधा उपलब्ध छ।






