ललितपुर। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरका तीन निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका ७१ जनामध्ये हालसम्म २३ जना उम्मेदवारले प्रचार खर्चका लागि बैंक खाता खोल्न सिफारिस लिएका छन्।
जिल्ला निर्वाचन कार्यालयकी सूचना अधिकारी समिता बस्नेतका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले बैंक खाता सञ्चालनका लागि सिफारिस लिएका हुन्।
निर्वाचन आयोगले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गर्दै प्रत्येक राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचारप्रसार खर्चका लागि छुट्टाछुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार खाता सञ्चालन प्रक्रिया अघि बढाइएको हो।
ललितपुर क्षेत्र नम्बर १ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये १२ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने २५ पुरुष र तीन महिला उम्मेदवार छन्।
ललितपुर क्षेत्र नम्बर २ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये सात जना स्वतन्त्र र १६ जना विभिन्न राजनीतिक दलका उम्मेदवार छन्। यस क्षेत्रमा दुई महिला उम्मेदवार रहेका छन्।
त्यसैगरी, ललितपुर क्षेत्र नम्बर ३ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका थिए। तीमध्ये तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि हाल २० जना उम्मेदवार कायम रहेका छन्।
निर्वाचन नजिकिँदै जाँदा प्रचारप्रसारका गतिविधि तीव्र बन्दै गएका छन् भने कानुनी प्रावधानअनुसार आर्थिक पारदर्शितामा पनि जोड दिइएको देखिन्छ।








