‘असत्य कुरा बार बार दोहोर्याए सत्य बन्छ’- आज एक चर्चित गायिकाको बहुप्रतीक्षित गीत सुन्दै गर्दा सम्झेको उक्ति हो यो। नेपाली गीत बजारमा एउटा ओपन सिक्रेट फर्मुला छ- दुःख, गुनासो र आँशु बेचे हिट ग्यारेन्टी!
तीजमा त झन् नयाँ सालको क्यालेन्डरजस्तो- शीर्षक बदल, लिरिक्समा २/४ नयाँ शब्द हाल, अनि पुरानै धुनमा आँसुको सेल्फी खिच ! विष्णु माझी- आवाजकी धनी, जसको स्वर सुनेर रेडियो पनि लाजबाब हुन्थ्यो। यसपल्ट पनि ‘तीज ल्याउन’ उनले गाइछन्, ‘म त नराउरी…!’
हिजो रिलिज्ड गीतमा कतिपल्ट त्यो मुखडा दोहोरिएको छ, मैले गन्ने चेष्टा गरिन। मुखडाले सुरुमै ‘मुड अफ’ गराएपछि यो लेख्ने बेलामा पनि गन्ने आँट गरिएन। आफैंलाई नराम्री भन्नु आफैंलाई कमजोर देखाउनु हो। पुतलीको भट्टीवाला विष्णुका २० औं गीत पनि त्यस्तै त्यस्तै थिए। यो २१औं त १४ मिनेट लामो पुरानै लय र रोनाधोनाको ’नयाँ प्रस्तुति’ रहेछ।
हो, विभेद बाँकी छ तर यथार्थ यो पनि छ- गाउँकी छोरी अचेल सहरको अफिस हाँक्छे, विदेशको सम्मेलनमा माइक समाउँछे, बिजनेस खोल्छे, संसद्मा भाषण दिन्छे र बैंकमा आफ्नो नामको चेक जम्मा गर्छे। प्लस टु मात्रै सकेकी नेपाली फुच्ची एक्लै बोइङ् चढेर विदेश जान्छे। लड्दै, उठ्दै, रुँदै, हाँस्दै विद्यार्थीका रुपमा प्रगति गरेर बाउआमाको शिर ठाडो पार्छे।
सीप हासिल गरेका पेशाकर्मी महिलाको प्रगतिको फेहरिस्त झन् लामो छ। लाखौं नेपाली महिला संसारका कुनाकुनामा छन्। सबैजसोले प्रगति गरेकै छन्।
अपवादका रुपमा दुःखका केही घटना कहाँ हुँदैनन् र! दक्षिण एसियाकै अरु देशको तुलनामा नेपाली महिला धेरै स्वतन्त्र छन्। अवस्था सुध्रिएको छ, यसमा धेरै माथापच्ची गर्नेपर्दैन।
परिवर्तन यति मात्रै छैन। छोरीहरु निरीह नरहेको उदाहरणको सूची लामो हुन्छ। सकारात्मक सोच्दै प्रगतिको कुरालाई प्राथमिकता दिने कि नकारात्मक सोच्दै अधोगतिको आलाप निकाल्ने, यो सर्जकको सोचमा भरपर्ने कुरा हो।
‘नजरवन्द’ विष्णुका लागि पति सुन्दरमणि अधिकारीले लेखेको गीतजस्तै काला र निराशाले भरिएका मात्र होइन, नेपाली महिलाका अरु रंग पनि छन्। तर प्रसिद्ध र प्रतिक्षित गायिकाको गीतमा यी कुरा? शून्य। मानौँ नेपालमा महिला मात्र पीडाको डकुमेन्ट्रीको पात्र हुन्।
किन नबनाउने एउटा हिट गीत जसले भन्छ- ‘म छोरी हुँ, तैले हेपेर होइन, म आफैं जितेर यहाँ पुगेकी हुँ…।’ त्यो गीतले सोसल मिडियामा आँसु होइन, तालीको इमोजी पाउँथ्यो। संगीतले सोच फेर्दिन्छ। विचार बदल्दिन्छ। संगीत क्रान्तिको हतियार हो तर अहिलेको ट्रेन्ड हेर्दा लाग्छ- हामीले बन्दुक होइन, उही पुरानो करकटको भाला समाएका छौं।
विष्णुको स्वर परिवर्तनको हतियार हो कि केवल गुनासोको रेकर्डर? जसको गीत हिट हुने ग्यारेन्टी छ- फेरि पनि विभेदको कथा तेहेर्याएको राम्रो सुनिएन। यदि विष्णुले त्यही स्वरमा पीडाको सट्टा प्रगतिका गीत गाइन् भने? कल्पना गर्नुहोस्- त्यो गीतले आमा छोरीलाई आँसु होइन, आत्मविश्वास दिनेथ्यो। तीजमा तारन्तार गुञ्जिने त्यो स्वरले चुलोभट्टी होइन, सिङ्गो समाज तताउनेथ्यो। ‘बोक्सीको घर’को ‘फूलजस्ती म…’ बरु धेरै क्रान्तिकारी थियो।
संगीत परिवर्तनको चाबी हो तर ढोका खोल्ने कि उही थुनिएको कोठामा ताल्चा झुन्ड्याउने- त्यो सर्जकको रोजाइ हो।
अन्त्यमा, राजेश हमालले ‘चलेका बेला’ चाहेको भए नेपाली फिल्मको गुणस्तरमा कायापलट हुन्थ्यो भन्ने गुनासो आइरहन्छ। विष्णु माझीले ‘चलेका बेला’ गीतमार्फत् नेपाली महिलालाई आत्मविश्वासी बनाउने किन ढिला गर्ने?





