काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८१\८२ मा बैंकले ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार रुपैयाँ खुुद नाफा आर्जन गरेको हो ।
अघिल्लो आव२०८०\८१ मा बैंकले २ अर्ब ५५ करोड २४ लाख ६७ हजार रुपैयाँ खुुद नाफा कमाएको थियो । बैंकको कुुल संचालन आम्दानी ११.२५ प्रतिशत बढेर १२ अर्ब ८४ करोड ३७ लाख ३७ हजार रुपैयाँ र संचालन नाफा ३१.५७ प्रतिशत बढेर ५ अर्ब ३८ करोड २५ लाख ७७ हजार रुपैयाँ रहेको बैंकले जनाएको छ ।
गत आर्थिक वर्षमा बैंकले निक्षेप ७१ अर्बले बढाएर ५ खर्ब ४१ करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै कर्जा साढे ४८ अर्बले बढाएर २ खर्ब ९४ अर्ब १९ करोड रुपैयाँ पुर्याएको छ । कर्जा निक्षेप अनुपात ६२.३९ प्रतिशत मात्रै रहेको बैंकको अधिक तरलताको चापले गर्दा कर्जा विस्तार भएपनि खुद ब्याज आम्दानी बढ्न नकेन ।
गत असारमा बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.४६ प्रतिशत सहित कुल पुँजीकोष अनुपात ११.८४ प्रतिशत छ । निष्क्रिय कर्जा ४.२८ प्रतिशतबाट ३.५९ प्रतिशतमा घटेको छ । आधार दर ४.७८ प्रतिशतमा झरेको छ ।
गत आर्थिक वर्षमा बैंकले १ अर्ब ५२ करोड ५६ लाख वितरणयोग्य नाफा कमाए पनि विगतको सञ्चित नोक्सानी १ अर्ब २ करोड २२ लाख घटाउँदा सञ्चित नाफा ३० करोड ३५ लाख रुपैयाँ मात्रै छ । जसले १.९४ प्रतिशत मात्रै लाभांश दिने क्षमता राख्छ ।
१५ अर्ब ६३ करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ ३२ पैसाबाट बढेर २४ रुपैयाँ ४१ पैसा पुगेको छ । त्यस्तै जगेडाकोषमा ३७ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ छ । गत असारमा बैंकको प्रतिसेयर नेटवर्थ ३०४१ रुपैयाँ ५९ पैसा पुगेको छ ।







