काठमाडौं । दैलेखमा भेटिएको मिथेन ग्याँसको व्यवसायिक उत्पादनको स्वामित्व लिन नेपाल आयल निगमलाई आग्रह गरिएको छ ।

नेपाल आयल निगमअन्तर्गतको निगम स्वतन्त्र कर्मचारी युनियनले निगमका कार्यकारी निर्देशक चण्डिका भट्टलाई मंगलबार ७ बुँदे ज्ञापन पत्र बुझाउँदै दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा पेट्रोलियम पदार्थ उत्खननको क्रममा पाइएको मिथेन ग्यासको व्यवसायिक उत्पादनको स्वामित्व ग्रहण गर्न आग्रह गरेका हुन् ।

युनियनका अध्यक्ष विकाश बखतीको नेतृत्वमा कर्मचारी टोलीले कार्यकारी निर्देशक भट्टलाई ज्ञापन पत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् ।

पेट्रोलियम अन्वेषण कार्य सम्पन्न भएर प्रारम्भिक अध्ययन प्रतिबेदन सरकारलाई बुझाई सकिएको छ ।
उक्त प्रारम्भिक प्रतिवेदनअनुसार दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास भण्डारण रहेको पुष्टि भएको र त्यस क्षेत्रमा कुल ४३० अर्ब घनमिटर ग्यास भण्डारण हुने प्रक्षेपण गरिएको छ ।

प्रारम्भिक प्रतिवेदनअनुसार यो परिमाणमा रहेको ग्यासबाट नेपालको आवश्यकतालाई कम्तिमा ५० वर्षसम्म पुरा गर्न सकिने औंल्याइएको छ । नेपालमा खाना पकाउन तथा केही औद्योगिक प्रयोजनका लागि आवश्यक एलपी ग्यास पूर्ण रुपमा निगम मार्फत भारतबाट आयात हुँदै आएको छ ।

यसका लागि वार्षिक अर्बौं रकम नेपालबाट बाहिरिने गरेको र यसले गर्दा वैदेशिक व्यापार घाटामा ठूलो भूमिका खेल्दै आएको छ । एलपी ग्यासमा निगमले वार्षिक रुपमा अर्बौं रकमबराबरको घाटासमेत व्यहोर्दै आएको अवस्थामा दैलेखमा पाइएको मिथेन ग्यासको व्यावसायिक उत्पादनको स्वामित्व ग्रहण गर्न निगम व्यवस्थापनलाई आग्रह गरिएको हो ।

निगम स्वतन्त्र कर्मचारी युनियनले निगमको उद्देश्यमा सम्भाव्य तेल खानी र ग्याँस उत्खनन, अन्वेषण गराउने उद्योग स्थापना गर्ने भन्ने विषय समावेश गरिएकाले निगमको एकल स्वामित्वमा वा निगमले रणनीतिक साझेदारसहितको कम्पनी स्थापना गरी ग्यास उत्खनन तथा व्यवसायिक कारोबार गर्न सकिने सुझाव दिएको छ ।