काठमाडौं । चलचित्र ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त गरिएको छ । ललितपुरको धन्वन्तरी बाराही मन्दिरमा बिहीबार बिहान शुभमुहूर्त गरिएको हो ।

पशुपति शिवजी इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गर्न लागिएको चलचित्रलाई कलाकार अर्जुन घिमिरे पाँडेले निर्देशन गर्न लगेका हुन् । चलचित्रमा रमेश उप्रेती, निर्मल शर्मा, दिपाश्री निरौला, गणेश उप्रेती, प्रियाना आचार्यलगायतको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा कथा कुमार बेन्जन्कार र पटकथा गणेश कार्कीको छ । निर्माण पक्षका अनुसार चलचित्रमा काठमाडौ महानगरपालिकाका मेयर बालेन साहको एउटा र्‍याप रहने छ । शुभमुहूर्तमा बालेनकी श्रीमती तथा मोडल सविना काफ्ले पनि उपस्थित थिइन् । चलचित्रका निर्देशक, लेखक, पटकथाकार सबै बालेन निकट हुन् । स्रोतका अनुसार चलचित्रमा बालेनको पनि लगानी छ ।