काठमाडौैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेले पार्टी सदस्यता नवीकरण गरिसकेको विषय अनावश्यक विवादमा ल्याएको बताउँदै बबरमहलबाट पार्टी निर्माणमा जुट्न कार्यकर्तासँग आह्वान गरेकी छन् ।
एमालेले पार्टी सदस्यता नै खारेज गरेपछि पहिलोपल्ट शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले नयाँ पार्टी नखोल्ने, एमालेमै रहेर राजनीति गर्ने सन्देश दिएकी छन् । भण्डारीले आफू विचलित नहुने पनि बताइन्। ‘म सबै साथीहरूलाई पार्टीका मूल्यहरूलाई आत्मसात् गर्दै पार्टी निर्माणमा सक्रिय हुनका लागि आग्रह गर्दछु,’ उनले भनिन्, ‘पार्टी बनाउन म र मजस्ता हजारौंको हात छ।’
एमालेले पार्टी राजनीति गर्नबाट रोकेपछि भण्डारीले नयाँ पार्टी खोल्ने धेरैको आकलन थियो । तर आफूले ४५ वर्ष बिताएको पार्टीमा रहेर राजनीति गर्न कसैले रोक्न नसक्ने उनको भनाइ छ । उनले एमालेका विभिन्न कमिटीले गरेका निर्णय वैधानिक नरहेको पनि दाबी गरेकी छन् । आफूलाई पार्टीमा जिम्मेवारी दिन अध्यक्ष केपी ओलीसँग पटकपटक छलफल गरेको स्मरण गर्दै आफूलाई पदको कुनै मोह नभएको पनि स्पष्ट पारेकी छन् ।









