काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप खेलेर नेपाली टोली स्वदेश फर्किएको छ ।

बंगलादेशमा भएको च्याम्पियनसिप खेलेर नेपाली टोली मंगलबार फर्किएको हो । महिला टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।

नेपाल फाइनलमा आयोजक बंगलादेशसँग पराजित हुँदै उपविजेतामा सीमित बनेको छ । बंगलादेशले पाँचौंपटक उपाधि जितेको हो ।

ढाकाको किंग्स रंगशालामा सोमबार भएको राउन्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग एकपक्षीय खेलमा ४–० ले पराजित नेपाल उपविजेतामा सीमित भएको छ । समग्रमा नेपाल तेस्रोपटक उपविजेता बनेको हो । यसअघि नेपाल सन् २०१८ र ०२३ को संस्करणमा पनि दोस्रो भएको थियो । नेपाल तीनैपटकको अवसरमा बंगलादेशसँग पराजित हुँदा दोस्रो स्थानमा सीमित रह्यो ।

साफ प्रतियोगिता बंगलादेश र भारतबाहेक अन्य राष्ट्रले जितेका छैनन् । यसपटक नेपालसमक्ष उपाधि जित्ने राम्रो अवसर थियो । घरेलु टोलीविरुद्ध जित निकाल्दा नेपाल पहिलोपटक विजेता बन्ने थियो । दोहोरो राउन्ड रोबिन लिगको निर्णायक खेलअघिसम्म नेपालले बंगलादेविरुद्ध गोलअन्तर उत्कृष्ट बनाएको थियो । तर, निर्णायक मोडमा नेपाल बंगलादेशसँग चुक्यो । यसअघि पहिलो चरणमा पनि नेपाल बंगलादेशसँग ३–२ ले पराजित भएको थियो ।