काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोनपे क्रसबोर्डर युपिआइ ट्रान्जेक्सन १० लाख नाघेको छ। फोनपेका अनुसार युपिआइ कारोबार दुई अर्ब रुपैयाँं छ ।
यो उपलब्धिले भारतीय प्रयोगकर्ताहरूका लागि नेपालमा सुरक्षित, सहज र वास्तविक समयमा भुक्तानी गर्न सकिने सुविधालाई नयाँ उचाइमा पुर्याएको फोनपेले सोमबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
भारतीय पर्यटकहरूले नेपालमा क्रसबोर्डर भुक्तानी गर्दा डिजिटल भुक्तानी प्रविधिको तीव्र अपनत्व देखिएको छ। उनीहरूले युपिआइ सक्षम एप्स प्रयोग गरी फोनपे क्युआर स्क्यान गरेर सहज रूपमा भुक्तानी गर्न थालेका छन्। यसले क्रसबोर्डर यात्रा, व्यापार र व्यक्तिगत खर्चमा डिजिटल विकल्पप्रतिको बढ्दो विश्वास झल्काउने फोनपेको भनाइ छ।
७७ रै जिल्लामा भौगोलिक पहुँच भएको फोनपे प्रयोग गर्ने व्यापारीको संख्या एक लाख नाघेको छ । खानपिन स्थल र रेस्टुरेन्ट, किराना पसल, होटल तथा रिसोर्टमा फोनपेको अत्यधिक प्रयोग हुने गरेको छ । काठमाडौं, कास्की र कैलाली जिल्लामा धेरै फोनपे प्रयोग हुने गरेको छ ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारले १० लाख युपिआइ कारोबार पार गर्नुले नेपालमा भारतीय ग्राहकहरूद्वारा डिजिटल भुक्तानीप्रति देखाइएको विश्वास र अपनत्वको प्रमाण भएको बताए । ‘यस माइलस्टोनले भारतीय ग्राहकहरूले फोनपे नेटवर्कप्रति कस्तो सहजता र आत्मविश्वासका साथ भुक्तानी गरिरहेका छन् भन्ने स्पष्ट देखाउँछ। यसले हाम्रो नेटवर्कप्रति राखिएको विश्वास मात्र होइन, सम्पूर्ण क्षेत्रीय डिजिटल अर्थतन्त्रको एकीकृत भविष्यप्रति हाम्रो प्रतिबद्धतालाई पनि पुष्टि गर्छ,’ उनले भने ।
फोनपे नेपाल राष्ट्र बैंकबाट अनुमोदित तथा नियमनमा रहेको नेपालकै सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक हो। एफवान सफ्ट ग्रुपको सहायक कम्पनीको रूपमा फोनपेले पिसिआई–डिएसएस प्रमाणीकरण प्राप्त गरेको कम्पनी हो। फोनपेले बैंक तथा वालेट प्रयोगकर्ता र व्यवसायहरूलाई छरितो, सुरक्षित र भरपर्दो नगदरहित डिजिटल भुक्तानी सेवा प्रदान गर्दै नेपाललाई नगदरहित अर्थतन्त्रतर्फ लैजाने प्रयासमा सक्रिय भूमिका खेलेको छ।







