काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा नाम जोडिएको भन्दै छानबिन आयोगको प्रतिवेदनमा समेत उल्लेख भएका उद्यमी भीमकान्त भण्डारीसँग सम्बन्धित यूएईस्थित फिनटेक कम्पनी माई ईवालेटमा नेपालका अनुभवी बैंकर ज्ञानेन्द्रप्रसाद ढुंगाना प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन्।

माई ईवालेट डिजिटल वित्तीय सेवा, क्रिप्टो सम्पत्ति व्यवस्थापन, रेमिट्यान्स, बहु-मुद्रा खाता तथा अन्तरदेशीय भुक्तानी सेवामा केन्द्रित कम्पनीका रूपमा परिचित छ। कम्पनीले डिजिटल वालेट र परम्परागत वित्तीय प्रणालीलाई जोड्ने उद्देश्यसहित विभिन्न सेवा विस्तार गर्दै आएको जनाएको छ।

ADVERTISEMENT

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब ६० किलो सुन प्रकरणमा भण्डारीको नाम पनि अनुसन्धान तथा जाँचबुझ आयोगको प्रतिवेदनमा जोडिएको समाचार सार्वजनिक भएको थियो। सो प्रकरणमा उनीसँग सम्बन्ध रहेको भन्दै मुद्दा चलाउन सिफारिस गरिएको थियो ।

माई ईवालेटसँग जोडिएका भण्डारी पछिल्ला वर्षहरूमा डिजिटल वित्त, फिनटेक तथा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली विस्तारमा सक्रिय उद्यमीका रूपमा परिचित छन्। उनी विभिन्न व्यावसायिक तथा प्रविधि परियोजनासँग सम्बन्धित रहेको बताइन्छ।

ADVERTISEMENT

यसैबीच, नेपालका वरिष्ठ बैंकर ज्ञानेन्द्र ढुंगाना कम्पनीको सीईओमा नियुक्त भएका हुन्। ढुंगाना नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् भने नेपाल बंगलादेश बैंक (हाल नबिल बैंकमा गाभिएको) को पनि सीईओका रूपमा काम गरिसकेका छन्। तीन दशकभन्दा बढी बैंकिङ अनुभव भएका ढुंगाना नेपाल बैंकर्स संघका पूर्व अध्यक्षसमेत हुन्।

कम्पनीले आफूलाई हङकङ र संयुक्त राज्य अमेरिका मा समेत नियामकीय लाइसेन्स प्राप्त संस्थाका रूपमा प्रस्तुत गर्दै आएको छ। डिजिटल वालेट, क्रिप्टो कारोबार, डिजिटल कार्ड सेवा तथा क्रस–बोर्डर भुक्तानी समाधान यसको प्रमुख सेवा क्षेत्र हुन्।

फिनटेक उद्योग विश्वव्यापी रूपमा तीव्र गतिमा विस्तार भइरहेका बेला डिजिटल भुक्तानी प्रणाली, रेमिट्यान्स र क्रिप्टो–आधारित सेवाको माग बढ्दो छ। यही परिवेशमा माई ईवालेटले परम्परागत बैंकिङ र डिजिटल सम्पत्ति प्रणालीलाई जोड्ने रणनीति अघि सारेको देखिन्छ।

कम्पनीको वास्तविक वित्तीय मूल्यांकन, लगानी संरचना तथा सेयर स्वामित्वबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। तर अन्तर्राष्ट्रिय बजारमा विस्तार र उच्च–प्रोफाइल व्यवस्थापन टोलीका कारण यो कम्पनी पछिल्ला वर्षहरूमा चर्चामा रहँदै आएको छ।