काठमाडौं । प्रधानमन्त्री केपी ओली शनिबार स्पेन प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघद्वारा आयोजित विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन स्पेनको सेभिया सहरमा आयोजना हुँदै छ ।
ओलीले संसद्मा भ्रमणबारे शनिबारै जानकारी गराएका छन् । प्रधानमन्त्री ओली आइतबार अपराह्न स्पेनको सेभिया पुग्नेछन् । त्यहाँ सुरुमा नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ, जहाँ स्पेनको मन्त्रिपरिषद्का अध्यक्षसहित उच्चपदस्थ व्यक्ति सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीको स्पेनका प्रधानमन्त्री (मन्त्रिपरिषद्का अध्यक्ष) पेद्रो सान्चेजसँग द्विपक्षीय वार्ता हुनेछ ।
आइतबार साँझ स्पेनका नरेशद्वारा कार्यक्रममा सहभागी राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको स्वागतमा आयोजना गरिने रात्रिभोजमा ओली सहभागी हुनेछन् । सोमबार ओली सम्मेलनको उद्घाटन सत्रमा सहभागी हुनेछन् । त्यसपछि गेट्स फाउन्डेसनद्वारा आयोजना गरिने विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा ओलीले सम्बोधन गर्नेछन् ।
ओलीले मंगलबार अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षतासहित उद्घाटन मन्तव्य दिने कार्यक्रम छ । त्यसपछि स्पेन सरकारका अध्यक्ष पेद्रो सान्चेजद्वारा आयोजना गरिने ‘वैश्विक ऐक्यबद्धतामा लगानी ः विकास सहयोगको नयाँ दृष्टिकोण’ शीर्षकको उच्चस्तरीय कार्यक्रमलाई ओलीले सम्बोधन गर्नेछन् । ओलीले नेपाल सरकार, बंगलादेश, लाओस र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक (युएनआरसी)को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिका लागि सशक्त सहनशीलता तथा जलवायु वित्तीय व्यवस्था (इम्पाओरिङ रेजिलेन्स, क्लाइमेट स्मार्ट फाइनान्सिङ फर सस्टेनेबल एलडिसी ग्रा्याजुएसन) उच्चस्तरीय साइड–इभेन्टलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
ओलीले नेपाल र बुरुन्डीद्वारा सहआयोजना गरिने राष्ट्रप्रमुख÷सरकार प्रमुखहरूको पहलमा पानी तथा सरसफाइ वित्तीय स्रोतको प्रवाह शीर्षकको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवनसम्बन्धी अर्को सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । बुधबार ओली सेभियाबाट म्याड्रिड फर्किनेछन् । म्याड्रिडमा नेपाल–स्पेन बिजनेस तथा लगानी प्रवद्र्धन साँझ नामक कार्यक्रममा ओलीले प्रतिष्ठित व्यावसायीहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी बिहीबार स्वदेश फर्किनुअघि रियल म्याड्रिड फुटबल क्लबका अधिकारीहरूसँगको भेटघाट र सान्टियागो बर्नाबाउ रंगशालाको अवलोकन गर्ने कार्यक्रम छ ।






