काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा पूर्वमुख्यसचिव शंकरदासा वैरागीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । समितिमा गृह, संघीय मामिला, श्रम, परराष्ट्र मन्त्रालयका बहालवाला सहसचिव सदस्य रहनेछन् ।
सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको छ । ‘भिजिट भिसा मानव तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन भएको छ । पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा । समितिमा विभिन्न मन्त्रालयका सहसचिव हरू सदस्य हुनुहुन्छ । तीन महिनाको समयसीमा दिइएको छ,’ एक मन्त्रीले भने ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै संसद् अवरोध गर्दै आएका छन् । छानबिन समिति नबनेसम्म आफ्नो विरोध कायमै रहने उनीहरूको अडान छ । मंगलबारको प्रतिनिधिसभा बैठकबाट बजेट पास गर्ने तयारी भएकै बेला सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने निर्णय गरेको हो ।




