काठमाडौं । वाणिज्य बैंकहरुले असार १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । जेठको तुलनामा असार महिनामा बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर औसत व्यक्तिगततर्फ ०.०५ प्रतिशत र संस्थागततर्फ ०.०१ प्रतिशत घटेको छ ।

यससँगै असारमा बैंकहरुको औसत ब्याजदर व्यक्तिगततर्फ ५.९ प्रतिशत र संस्थागततर्फ ४.३७ प्रतिशतमा झरेको छ । जेठमा औसत व्यक्तिगततर्फ ५.९५२ प्रतिशत र संस्थागततर्फ ४.३९ प्रतिशत ब्याजदर थियो ।

असारमा १५ बैंकले जेठ महिनाकै ब्याजदरलाई यथावत् राखेका छन् भने पाँच बैंकले मात्रै ब्याजदर घटाएका छन् । एनएमबि बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, कृषि विकास बैंक, कुमारी बैंकले असारमा ब्याजदर घटाएका हुन् ।

एनएमबि बैंकले ०.६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत, एभरेष्ट बैंकले ०.०९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६.५५ प्रतिशत र संस्थागततर्फ ५.५५ प्रतिशत, एनआईसी एशिया बैंकले ०.०५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६.५५ प्रतिशत र संस्थागततर्फ ५.५५ प्रतिशत ब्याजदर तोकेका छन् ।

कृषि विकास बैंकले असारमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.०६ प्रतिशत घटाएर ५.४५ प्रतिशत र संस्थागततर्फ १.१२ प्रतिशत बढाएर ४.४५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । कुमारी बैंकले असारमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.२ प्रतिशत घटाएर ५.७१ प्रतिशत र संस्थागततर्फ ०.४ प्रतिशत घटाएर ४.५१ प्रतिशत ब्याजदर तोकेको छ ।