काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति एलोन मस्कसँगको आफ्नो सम्बन्ध समाप्त भएको घोषणा गरेका छन् । एनबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले अब सम्बन्ध सुधार्ने चाहना नरहेको स्पष्ट पारेका छन् ।
ट्रम्प र मस्कबीचको खटपट ट्रम्पको ‘बिग ब्यूटिफुल बिल’ नामक कर तथा खर्च विधेयकप्रति मस्कको आलोचनापछि थप चुलिएको हो । मस्कले त्यो विधेयकले सरकारी खर्च बढाउने र देशलाई बर्बाद गर्ने टिप्पणी गरेका थिए ।
ट्रम्प र एलोन मस्कबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप तीव्र बनेको छ । कर र खर्चसम्बन्धी विधेयक हाउस अफ रिप्रेजेन्टेटिभ्स (अमेरिकी संसदको तल्लो सदन) मा पास गरिएको थियो । यसमा कैयौं ट्रिलियन डलरको करमा छुट, रक्षा खर्चमा बढोत्तरी र अमेरिकी सरकारलाई थप ऋण लिन अनुमति दिइएको छ ।
अर्बपति मस्क डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिशिएन्सी (डीओजीआई) अर्थात् खर्च कटौती विभागमा झन्डै साढे चार महिना काम गरेपछि हालै बाहिरिएका थिए । ट्रम्पलाई राष्ट्रपतिमा जिताउन मस्कले अर्बौ डलर खर्च गरेका थिए । तर ६ महिनामै दुवैबीचको सम्बन्धमा दरार आएको छ । ट्रम्पले मस्कको दिमागी हालत ठीक नभएको पनि टिप्पणी गरेका छन् ।





