काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आइतबार बूढानीलकण्ठस्थित लामिछानेको निवासमा करिब चार घण्टा लामो भेटवार्ता भएको छ।

दिउँसो ११ बजेदेखि ३ बजेसम्म चलेको छलफलमा पछिल्लो राजनीतिक अवस्था, सुकुम्बासी व्यवस्थापन, सरकारको कामप्रति बढ्दो असन्तुष्टि तथा मुलुकको समसामयिक परिस्थितिबारे विस्तृत संवाद भएको दुवै पक्षका स्रोतले बताएका छन्।

ADVERTISEMENT

सचिवालयका सदस्यहरूका अनुसार लामिछानेले बदलिएको राजनीतिक परिवेशलाई ध्यानमा राखेर अघि बढ्न प्रधानमन्त्री शाहलाई सुझाव दिएका थिए।

छलफलको अधिकांश समय दुवै नेता एकान्तमा बसेर संवाद गरेका थिए भने बीचमा केही सहयोगी र नेताहरू पनि उपस्थित भएको जनाइएको छ। प्रधानमन्त्री शाह शुक्रबार टेलिफोन संवादपछि आइतबार लामिछानेलाई भेट्न स्वयं बूढानीलकण्ठ पुगेका थिए।

ADVERTISEMENT

यता, सुकुम्बासीको समस्या चर्किरहेका बेला आइतबार गृहमन्त्री सुधन गुरुङसहित आधा दर्जन मन्त्री भक्तपुरको खरिपाटी पुगेर सुकुम्बासीका प्रतिनिधिसँग छलफल गरेका थिए।

त्यसैबीच माइतीघर मण्डलमा सुकुम्बासीको आन्दोलन जारी रहँदा गणेश नेपाली आत्मदाह प्रकरण र सुकुम्बासीको पीडाबारे प्रधानमन्त्री शाह र रवि लामिछानेले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्।