समाचार टिप्पणी
काठमाडौं । जेनजी आन्दोलनले यत्रो वर्षौदेखिको पकड ध्वस्त पार्दासमेत नेपालका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादीले नसच्चिने प्रतिज्ञा गरेका छन् । उनीहरू यथास्थितिमै अघि बढ्ने संकेत देखिएको छ । पछिल्लो दुई तीन दिनयता एमाले र माओवादी शीर्ष नेताहरूको सक्रियता र अभिव्यक्ति सुन्दा पार्टी पुनर्संरचना नहुने निश्चित भएको हो ।
एमाले अध्यक्ष केपी ओली नौ दिनदेखि शिवपुरीस्थित सैनिक घेरामा छन् । अन्य शीर्ष नेतालाई छाड्दा पनि सेनाले ओलीलाई अझै आफ्नो सुरक्षा घेरामा राख्नुले ओलीप्रति जनताको रिस अझै नमरेको र सुरक्षा थ्रेट नै हो भन्ने आकलन गर्न सकिन्छ । कांग्रेस सभापति शेरबहादुर देउवाले भौतिक आक्रमणसमेत बेहोरेकाले उपचारकै अवस्थामा रहेकाले उनको विषयमा कुनै कुरा बाहिर आएको छैन । तर एमाले, माओवादी, एकीकृत समाजवादीका शीर्ष नेताहरूका अभिव्यक्ति सार्वजनिक हुन थालेका छन् ।
यसक्रममा सैनिक सुरक्षा घेरामा रहेका एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई फोन गरेर आफू बाहिर आएपछि मात्र बैठक राख्न निर्देशन दिएका छन् । अध्यक्षले काम गर्न नसक्ने अवस्थामा वरिष्ठ उपाध्यक्ष स्वतः कार्यवाहक अध्यक्ष हो । पोखरेलले आफूलाई कार्यबाहक अध्यक्ष सोचेका थिए । तर ओलीको फोन आएसँगै उनी झस्किएका छन् । यसले एमालेमा नेतृत्व हस्तान्तरण नहुने पक्कापक्की छ ।
एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिले पनि त्यो पार्टीमा नेतृत्व परिवर्तन नहुने संकेत गरेको छ । ‘नयाँ पुस्ताको विचार जित्नेगरी पार्टीको गतिविधि अघि बढाउनुपर्छ। जनतासँगको सम्बन्धलाई जित्न र घनिष्ठ बनाउनुपर्छ। संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न हामी जागरूक र प्रतिबद्ध हुनुपर्छ,’ उनले भनेका छन् ।
एमाले नेताहरूले जेनजी आन्दोलनलाई विदेशी प्रायोजन, प्रतिगमनकारी षड्यन्त्र र विध्वंसकारी योजनाको हिस्सा बताउँदै आएका छन्। पोखरेलको यो पछिल्लो अभिव्यक्ति अझै पनि दोष अरूलाई देखाउँदै जिम्मेवारीबाट उम्कन खोजिरहेको विश्लेषण गरिएको छ।
माओवादीले त अहिले पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प देखेकै छैन । प्रचण्ड नभए पार्टी नै कोल्याप्स हुने भन्दै एक पक्षले प्रचार गर्दै आएको छ । नेता जनार्दन शर्माले प्रचण्डलाई अध्यक्ष छाड्न दबाब दिँदै आए पनि उनले त्यसको बेवास्ता गर्दै अझै सशक्त ढंगले अघि बढ्ने बताएका छन् ।
आफ्नो निवासमा प्रदर्शनकारीले आगो लगाएर खण्डहर बनाइदिएपछि प्रचण्ड अहिले फरक फरक व्यक्तिको घरमा बस्दै आएका छन् । त्यसक्रममा उनले परिवारका सदस्यसहित निकट युवा नेतासँग बैठक राखेका छन् । प्रचण्ड मंगलबार मात्रै पार्टी कार्यालय गएर नयाँ भव्य पार्टी कार्यालय बनाउने घोषणा गर्दै चुनावको तयारीमा लाग्ने निर्देशन दिए । यसले फेरि पनि माओवादीमा नेतृत्व हस्तान्तरण चियाको कपमा चलेको तुफान जस्तै हुने निश्चित छ ।












