ललितपुर । बागमती गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा भएको क्षतिपछि पुनर्निर्माण थालेको छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरुको उपस्थितिमा आइतबार विशेष छलफल सम्पन्न भएको छ ।

जेनजी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिको समीक्षा गर्न आयोजित छलफलमा सहभागीहरुले आन्दोलनका क्रममा निधन भएका नेपाली नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै मृत आत्माको चीरशान्तिको कामना गरिएको छ ।

ADVERTISEMENT

गाउँपालिकाका सूचना अधिकारी मिलन शर्मा घिमिरेका अनुसार छलफलले आन्दोलनमा घाइते भएकाहरुलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना दिंदै देशमा छिट्टै शान्ति, सुरक्षा र सुशासन कायम होस् भन्ने अपेक्षा राखिएको छ ।

ADVERTISEMENT

आन्दोलनका क्रममा नेपालका ऐतिहासिक संरचना, सरकारी तथा निजी भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको भन्दै बागमती गाउँपालिकाका कर्मचारीहरुले ‘हाम्रो नेपाल हामी आफै बनाउँ’ भन्ने नारासहित पुनर्निर्माण अभियान सुरु गरेका छन् । सो क्रममा तत्काल बीस हजार आठ सय रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, नेपाल बैंक लिमिटेड रामशाहपथ शाखामा जम्मा गरिएको सूचना अधिकारी घिमिरेले जानकारी दिए ।