काठमाडौं । आइतबारदेखि पुर्णरुपमा सार्वजनिक सवारी साधन खुलेका छन ।
जिल्ला सुरक्षा समितिले काठमाडौंमा जारी गरेको निषेधाज्ञा र कर्फ्यु हटाएसँगै निजी सडकमा सवारीसाधन र सर्वसाधरणको चहलपहल बढ्न थालेको हो ।
जेनजी पुस्ताले गरेको आन्दोलना कारण गत मंगलबारदेखि बन्द रहेका सार्वजनिक सवारी आइतबारबाट सञ्चालनमा आएका हुन ।
निषेधाज्ञा र कर्फ्यु हटेपछि सर्वसाधारणको चहलपल बढ्न थालेको काठमाडौं उपत्यका ट्र्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सार्वजनिक सवारी नचल्दा भने सर्वसाधारणलाई यात्रामा अहसहज भएको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले सार्वजनिक सवारीसाधन आइतबार सञ्चालनमा आउने जानकारी दिए ।
‘देशको असहज परिस्थतिले गर्दा सार्वजनिक सवारीसाधन चलाउन सकिएन, प्रदर्शन सुरु हुनु अघिल्लो दिन नै सूचना जारी गरेर प्रदर्शनमा कुनैपनि सार्वजनिक सवारीसाधन नचलाउन भनेका कारण पनि ठूलो क्षति भएन,’ स्वाँरले भने, ‘अहिले मुलुकले नयाँ प्रधानमन्त्री पाइसकेको छ । अवस्था सहज बन्दै गएकाले अब सार्वजनिक सवारी चलाउन समस्या छैन ।’
आइतबार नै सरोकारवाला निकायबीच छलफल गरी दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खोल्नेबारे निर्णय हुने स्वाँरले जानकारी दिए ।
‘दसैं आउन धेरै समय छैन, मिलेसम्म आइतबार नै हामी अग्रिम टिकट बुकिङ कहिलेबाट खोल्ने भन्नेबारे निर्णय गर्छौं,’ स्वाँरले भने ।
अघिपछि घटस्थापनाको १५ दिनअघि दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरिन्थ्यो । आइतबार सरोकारवाला निकायलाई मन्त्रालयमा बोलाएर छलफल गरी गाडीको गाडीको अग्रिम बुकिङ टिकट खोल्नेबारे निर्णय गरिने बताइएको छ ।






