काठमाडौं । जेनजी आन्दोलनमा देशभर मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
उपत्यका सहित विभिन्न जिल्लामा आन्दोलनका क्रममा ज्यान जानेको संख्या ५१ पुगेको प्रहरीले जनाएको छ । आन्दोलनका क्रममा ३ जना प्रहरीसहित ५१ जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांक छ । आन्दोलनका क्रममा भएको अन्य क्षतिको विवरण भने संकलन गर्ने कार्य भइरहेको प्रवक्ता प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिए ।
अहिलेसम्म ३ जना प्रहरीसहित ५१ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ,’ उनले भने, ‘थप क्षतिको विवरण संकलन गरिदैंछ ।’
प्रदर्शनका क्रममा एक जना भारतीय महिला, ९ जना कैदीको मृत्यु भएको छ । यस्तै, बाँकेस्थित बाल सुधार गृहमा भएको झडपमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार प्रदर्शनका क्रममा घाइते भएका १ हजार ७७१ जनाको विभिन्न ६० अस्पतालमा उपचार भएको छ ।
जसमध्ये १३७९ जना उपचारपछि डिस्चार्ज गरिएको थियो भने २८४ जनालाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।







