काठमाडौं । जेनजी पुस्ताले गरेको गरेको आन्दोलनमा देशभरि दुई दर्जन होटलमा क्षति पुर्याइएको पाइएको छ ।
होटल एसोसिएसन नेपाल हानले संकलन गरेको विवरण अनुसार सफल परिवर्तनकारी आन्दोलन क्रममा उक्त क्षति पुगेको पाइएको जनाएको छ ।
हानका अनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायत क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्रान्डका होटलमा बढी आक्रमण भएको छ ।
होटल प्रतिष्ठानमा तोडफोड, आगजनी, लुटपाट भएको पाइएको छ । काठमाडौंस्थित होटल हिल्टनमा मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको हानको अनुमान छ । देशभरि यस्तो क्षति २५ अर्ब पुग्ने अनुमान छ । काठमाडौंमा पाँचतारे होटल हिल्टनसँगै हायात होटलमा समेत आगजनी भएको छ ।
यस्तै दाङस्थित होटल माला इनमा समेत प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । देशभरिका होटलमा भएको क्षतिको विवरण संकलन क्रममा रहेको समेत हानले जनाएको छ ।
होटलहरू मर्मतसम्भार, पुनर्निर्माण नगरी सञ्चालनमा आउन नसक्ने हुँदा करिब २ हजारभन्दा बढी कामदार कर्मचारीको चाडपर्वको समयमा रोजीरोटीमा समेत प्रत्यक्ष प्रभाव पर्ने हानको अनुमान छ ।
हाल सञ्चालन अवरुद्ध भएका यी होटलले बेहोर्नुपर्ने बैंक तथा वित्तीय संस्था लगायत आर्थिक दायित्व नियमित रूपमा तिर्न बुझाउन असमर्थ रहने देखिएको समेत हानको भनाइ छ ।







