काठमाडौं । जेनजी आन्दोलनमा घुसपैठ गरेर आतंक मच्चाउनेको अनुहार विस्तारै खुल्दै गएको छ । जेनजी आन्दोलन आफूहरूले गरेको भन्दै राजावादी समूह र व्यक्ति सामाजिक सञ्जालमा ब्रान्डिङ गर्न लागिपरेका छन् । भदौ २४ को आन्दोलनमा कार्यपालिका, व्यवस्थापिका, सर्वोच्च न्यायालय आगो लगाएर ध्वस्त गरिएको थियो ।

सामाजिक सञ्जाल बन्दको विरोध र सुशासनका पक्षमा सुरु भएको जेनजी आन्दोलनले अहिले नयाँ चुनौतीको सामना गरिरहेको छ। उनीहरुको आन्दोलनमा पछिल्लो समय राजावादी हाबी भएका छन् । ह्वाट्स एप, डिस्कोर्ड जस्ता च्याट प्लेटफर्महरूमा युवाहरूले आन्दोलनका कार्यक्रम र विचार आदानप्रदान गर्ने क्रममा राजतन्त्र पक्षधरहरूले आफ्नो एजेन्डा राख्न थालेका छन्।

ADVERTISEMENT

कतिसम्म भने बुधबार जंगी अड्डामा कसलाई अन्तरिम सरकारको प्रमुख बनाउने भन्ने विषयमा राजावादी र जेनजी समूहबीच झन्डै हात हालाहाल भएको थियो । राजावादी समूहले राजा ल्याउनुपर्ने एजेन्डा अघि सारेपछि विवाद भएको थियो ।

ADVERTISEMENT

जेनजी पुस्ताले स्वतन्त्रता, समानता र उत्तरदायी शासनलाई आफ्नो प्रमुख एजेन्डा बनाए पनि कतिपय राजावादी समूहले यो अवसरलाई राजसंस्थाको पुनः स्थापना र राजावादी एजेन्डा अघि बढाउन प्रयोग गर्न थालेका छन्। उनीहरूले युवाको असन्तुष्टिलाई आफ्नो पक्षमा मोड्ने रणनीति अपनाइरहेका छन् । आन्दोलन सुरु भएको केही दिनमै प्रहरीको गोली प्रयोगमा ३४ जना युवाले ज्यान गुमाएपछि आन्दोलन झनै भावनात्मक र संवेदनशील बनेको छ।

जेनजीहरुले लोकतन्त्रको पक्षमा उठाएको आवाजलाई कुनै पनि एजेन्डा वा विचारधाराले कब्जा गर्न नपाइने बताउँछन्। यो आन्दोलन सबै नागरिकको स्वतन्त्रताको पक्षमा हो, कुनै संस्थाको पुनस्र्थापना वा सत्ता कब्जा गर्ने साधन होइन भन्ने उनीहरूको भनाइ छ।

सेनाले निर्मल निवासको प्रतिनिधि भन्दै जंगी अड्डा बोलाएर छलफल गरेपछि जेनजी आक्रोशित भएका छन् । जबकि जेनजीले प्रसाईलाई आन्दोलनमा सहभागी नहुने भेटेरै जानकारी गराएको थियो । तर अहिले सेनाले एकाएक प्रसाईलाई वार्तामा सरिक बनाइरहेको छ । यसले अन्तरिम सरकारमा प्रसाई शक्तिशाली मन्त्री बन्ने र राजसंस्था पुनःस्थापना गर्ने रणनीतिसहित जेनजीलाई किनारा लगाउने प्रयास भइरहेको आशंकालाई बल पुगेको छ ।