काठमाडौं । नेपाली सेनाले दुर्गा प्रसाईलाई प्राथमिकता दिइरहेको छ । जेनजीले संसदको शक्ति सैनिक मुख्यालयमा सार्ने आन्दोलन गरेका थिएनन्। तर अहिले सेनाले प्रसाईलाई जंगी अड्डामा वार्तामा राखेको छ, जसको जेनजीले कडा शब्दमा विरोध गर्दै आएका छन् ।
जेनजीले स्पष्ट रुपमा आन्दोलनमा दुर्गा प्रसाईको भूमिका नरहेको जानकारी गराउँदै अन्तरिम सरकारमा पनि नाम अगाडि ल्याएको छैन । जेनजीको आन्दोलनमा प्रसाईको घुसपैठ भएको सबैले प्रमाण फेला पारिसकेका छन् । सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन जलाउन प्रसाईले परिचालन गरेका भिजिलान्ते रहेको सामाजिक सञ्जालमा राखिएका भिडियो देखाइसकेका छन् ।
प्रसाई नेपालको संविधान र कानुनअनुसार प्रहरी र अदालतका अभियुक्तसमेत हुन् । उनीमाथि दर्जनौं मुद्दा अदालतमा विचाराधीन छ । तर पनि सेनाले नयाँ सरकार गठन गर्ने क्रममा प्रसाईलाई सामेल गराउनुले यहाँ ठूलो संशय पैदा भएको छ ।
स्रोतका अनुसार सेनाले प्रसाईलाई पूर्वराजा पक्षबाट वार्तामा सहभागी गराएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र प्रसाईलाई सेनाको टोलीले बिहीबार विशेष सुरक्षासहित आर्मी हेडक्वार्टर पु¥याएका छन् । अरुलाई भने पस्न दिइएको छैन । जसकारण अहिले जंगी अड्डा अगाडि जेनजीले नाराबाजी गरिरहेका छन् ।
संसद् विघटन गरेर बालेन्द्र साह बालेन, हर्क साङपाङ, कुलमान घिसिङजस्ता पात्र अगाडि आउनुपर्ने भन्दै केही युवाले विरोध गरिरहेका छन् । उनीहरूले प्रसाईं सैनिक मुख्यालयभित्र रहेका भन्दै उनलाई तुरुन्त बाहिर निकाल्नुपर्ने माग गरिरहेका छन् । भीड बढेपछि सेनाले उनीहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ ।
विशेष स्रोतका अनुसार निर्मल निवासको निर्देशनअनुसार भदौ २४ को जेनजी आन्दोलनमा प्रसाईले भिजिलान्ते प्रयोग गरेका थिए । जसले सहरभरि आगो लगाएको थियो । अड्डा अदालतमा कुनै पनि प्रमाण बाँकी नरहने गरी नष्ट गरिएको छ । एकै दिन न्यायालय, कार्यपालिका र व्यवस्थापिका खरानी बनाइएको बताइन्छ । आजसम्म यस्तो घटना कुनै पनि देशमा भएका छैनन् । अहिले सेनाले प्रसाई पनि आन्दोलनको स्टेक होल्डर हो भनेर भन्नुको अर्थ निर्मल निवास नै रहेको पुष्टि हुँदै गएको छ ।












