काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले सामाजिक सञ्जाल बन्दको विरोधमा सोमबार हुने प्रदर्शनप्रति समर्थन जनाएका छन् ।

बालेनले उमेर हदबन्दीका कारण आफू प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको जानकारी गराएका छन् ।

ADVERTISEMENT

‘भोलिको र्‍याली स्पष्ट स्वस्फूर्तरुपमा जेनजीको हो, उहाँहरू भनेको २८ वर्षमुनि हुनुहुन्छ, जसका लागि म पनि अझै बुढो देखिन्छु । मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ,’ बालेनले भनेका छन्, ‘भोलि यो स्वतफुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपूर समर्थन छ ।’

ADVERTISEMENT

बालेनले जेनजी पुस्तासँग देश बनाउने खाका पनि मागेका छन् । उनले जेनजी पुस्ताले कस्तो देश देख्न चाहन्छन् भन्दै प्रश्न गरेका छन् । ‘प्रिय जेनजी भन्नुस् तपाईहरुले कस्तो देश देख्न चाहनु हुन्छ ?’

युवाहरुले काठमाडौँको माइतीघर मण्डलासहित देशका मुख्य सहरहरुमा प्रदर्शन गर्ने भनेका छन् । कुनै राजनीतिक विचार, दल र नेताविरुद्ध नहुने भनिएको प्रदर्शनमा उत्तेजित नहुन, अमर्यादित नारा नलगाउन र तोडफोडमा नउत्रन सबैलाई सूचित गरिएको छ ।

कुशासन र सामाजिक सञ्जालमाथिको प्रतिवन्धविरुद्ध जेनजी पुस्ताले भोलि देशैभर एकैसाथ आन्दोलनको घोषणा गरेको हो । संगठित रूपमा कुनै संस्थालाई आयोजक बनाएर नभई युवाहरू स्वतस्फुर्त सडकमा आउन लागेका हुन् । तर केही राजावादीहरू भने जेनजी पुस्ताको आन्दोलनलाई समर्थन गरेर आफू चर्चामा आउन लागिपरेका छन् ।