काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल बैंक फर इन्टरनेसनल सेटलमेन्टस (बीआईएस) को ९५औं बैठकमा सहभागी भएका छन् । जुन २७ देखि २९ सम्म स्विट्जरल्याण्डको बासेलमा आयोजित बिसको वार्षिक बैठकमा उनी सहभागी भएका हुन् ।

गभर्नर पौडेल सीपीएमआई इमर्जिङ मार्केट्स एन्ड डेभलपिङ इकोनोमिक्स ब्रिगिङ ग्याप्स : फाइनान्सिएल इन्क्लुजन रिजनल इन्टरर्गेसन एन्ड क्रस बोर्डर पेमेन्टस तथा बिआइएस एनोभेसन हब सेमिनार एआइ एन्ड सेफ्टी विषयक अन्तरक्रियामा सहभागी भएका थिए ।

सन् १९३० मा स्थापित बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसमा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य छन् । विश्वभर मौद्रिक र वित्तीय स्थायित्व कायम राख्ने उद्देश्यले स्थापित बीआईएसले केन्द्रीय बैंकहरूबीचको सहकार्य र वित्तीय प्रणालीको विकास एवं वित्तीय स्थायित्व कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । बैठकमा बीआईएस सदस्य राष्ट्र एवं विश्वका विभिन्न देशका केन्द्रीय बैंकका गभर्नरहरू एवं उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा अन्तरदेशीय भुक्तानी प्रणालीमा केन्द्रीय बैंकहरूले गरेका उपलब्धि र सामना गर्नुपरेको चुनौती तथा केन्द्रीय बैंकमा एआईको प्रयोग र यसले बैंकिङ प्रणालीमा ल्याउन सक्ने चुनौती र त्यसलाई सम्बोधन गर्न केन्द्रीय बैंकहरूले अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थाका सम्बन्धमा छलफल भएको थियो।

गभर्नर पौडेलले बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्ससँग भेटघाट गरेका थिए । साथै, बीआईएस, बैंकिङ विभागका प्रमुख लुइस वेङ्गोचाको नेतृत्वमा उक्त विभागका उच्च अधिकारीहरूलगायतका प्रतिनिधिहरूसँग समेत बैठक गरेका थिए ।

बैठकमा विदेशी विनिमय सञ्चिति लगानी विविधीकरणका लागि सुन खरिद तथा विश्वबजारमा उपलब्ध नयाँ नयाँ उपकरणहरूमा लगानी गरी विदेशी विनिमय सञ्चिति व्यवस्थापनबाट प्राप्त हुने प्रतिफल बढाउन नेपाल राष्ट्र बैंकसँग हुन सक्ने सहकार्यलगायतका विषयहरूमा छलफल भएको थियो । साथै, विदेशी विनिमय सञ्चितिलाई सुरक्षित, लाभदायक र प्रभावकारी व्यवस्थापन गर्न थप लगानीको अवसरका लागि आवश्यक सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।

गभर्नर पौडेल र पिपुल्स बैंक अफ चाइनाका गभर्नर पान गन्सेङबीच भेटघाट भएको थियो । भेटमा दुई केन्द्रीय बैंकबीच द्विपक्षीय सहयोग, बैकिङ कारोबार एवं भुक्तानी प्रणालीलाई सहज र प्रभावकारी बनाउन निरन्तर सहकार्य गर्ने विषयमा छलफल भएको थियो । सो अवसरमा बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्दप्रसाद नागिला र गभर्नरको कार्यालयका निर्देशक एवम् सञ्चालक समितिका सचिव शरणकुमार अधिकारीको समेत सहभागिता थियो ।