काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अब भुटानको लागि सिधा उडान हुने भएको छ। भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो।
युनिभर्सल टुर्स एण्ड ट्राभल युटीटीले आगामी असोज १२ देखि चार वटा चार्टर उडान गर्ने जनाएको छ।
असोज १२, १६, २० र २४ गते उडान गर्नेगरी तालिकासमेत तय भइसकेको युटिटीका सञ्चालक परासर प्रसाईंले जानकारी दिए। भुटान एयरलायन्स १२६ सिट क्षमताको हो। ट्राभल्सले चार्टर उडानका सहित ट्राभल्स प्याकेज समेत बनाएको छ। सो प्याकेज चार रात र पाँच दिनको रहेको प्रसाईंको भनाई छ।
‘निरन्तर प्रयास भयो भने पोखराबाट अन्तरराष्ट्रिय उडान सम्भव छ । यसका लागि सरकारले एयरलाइन्सलाई उत्प्रेरित गर्नुपर्छ,’ उनले भने। पोखराबाट पारो अन्तरराष्ट्रिय उडान हुने भएसँगै यसबाट आगामी दिनमा नियमित उडानको ढोका खुल्ने विश्वास लिइएको छ।
पोखरादेखि भुटान र भुटानदेखि पोखराको सिधा उडानले दुवै देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बताउँछन्।
‘पोखरालाई अन्तरराष्ट्रिय बजारसम्म जोड्न यसले महत्तवपूर्ण योगदान गर्ने विश्वास लिएका छौँ। यसको निरन्तरताका लागि सबैले आफ्नो ठाउँबाट पहल गरौँ’, उनले भने। प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणपछि नियमित उडानको ढोका खुल्ने विश्वास समेत उनले व्यक्त गरे।
पोखरा र भैरहवामा उडान गर्ने विदेशी वायुसेवालाई सरकारले आकर्षक छुट सुविधासमेत दिएको छ। जसअनुसार यहाँबाट हुने अन्तरराष्ट्रिय उडानबाट पाउने सम्पूर्ण शुल्क छुट दिइएको छ।
नेपाल वायुसेवा निगमले दिने ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवामा जम्मा २५ प्रतिशतबाहेक अतिरिक्त कुनै पनि शुल्क तिर्नुपर्दैन । यी दुई विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानको छुट तथा सहुलियत सरकारले २०८१ साउन २८ देखि दिएको हो।








