काठमाडौं । सत्तारुढ एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमालेले जनाएको छ ।

बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

ADVERTISEMENT

विधान महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी दुई हजार तीन सय ४१ जनाको सहभागिता रहने एमालेप्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

ADVERTISEMENT

विधान महाधिवेशनको एमाले अध्यक्ष केपी ओलीले समुद्घाटन गर्नेछन् । अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन्।

केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा.पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा.विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आआफ्‌ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने छन्। विधान महाधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्नका लागि आठवटा उपसमितिहरु निर्माण गरिएको बताइएको छ।

ADVERTISEMENT

महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारे छलफल नहुने महासचिव पोखरेलले बताए । ‘एमालेमा कसैको पनि फरक मत छैन । निर्णयमाथिको फरक मत हो । दुई उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले निर्णयमा असहमति जनाउनुभएको छ । स्थायी समिति सदस्य कर्ण थापाले भने विधान संशोधनमा फरक मत राखेको हो,’ पोखरेलले भने ।

एमालेमा भण्डारी पक्षले फरक मत राख्ने तयारी गरेको छ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले यसबारे जानकारी दिइसकेका छन् ।