काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले ड्रागन र हात्ती एकसाथ आउन आवश्यक रहेको बताएका छन् ।
सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनको अवसरमा सहभागी हुन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा उनले यस्तो भनेका हुन् ।
यस क्रममा सी जिनपिङले भारत र चीनले मित्र र असल छिमेकी बन्नुपर्ने बताए। उनले आफ्नो प्रारम्भिक सम्बोधनमा भने, ‘विश्व परिवर्तनको अवधिबाट गुज्रिरहेको छ। चीन र भारत दुवै प्राचीन सभ्यताको देश हुन्, विश्वका दुई सबैभन्दा धेरै जनसंख्या भएका देशहरू र ग्लोबल साउथको एक महत्त्वपूर्ण भाग हुन्। यसमा, ड्र्यागन र हात्ती एकसाथ आउन आवश्यक छ।’
सीले दुई देशलाई पारस्परिक विश्वासलाई गहिरो बनाउन, आदानप्रदान र बराबरी सहयोग विस्तार गर्न, सामञ्जस्यपूर्ण सहअस्तित्व खोज्न एकअर्काको चासोलाई ध्यान दिन र साझा हितको रक्षा गर्न बहुपक्षीय सहकार्य बढाउन रणनीतिक सञ्चारलाई सुदृढ पार्न आह्वान गरे।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग कच्चा तेल खरिद गरेको भन्दै भारतलाई ५० प्रतिशत कर लगाएपछि मोदी चीनसँग सम्बन्ध सुधारमा लागेका छन् । आइतबार मोदी र सीबीच ५० मिनेट भेटवार्ता भएको थियो ।




