काठमाडौं । सभामुख देवराज घिमिरेको अपिलपछि रास्वपा र राप्रपाले संसद् बैठक बहिष्कार गरेका छन् । बैठक सुरु भएलगत्तै सभामुख घिमिरेले विपक्षी दलहरूलाई नियमित बैठकमा सहभागी हुन अपिल गरेका थिए ।

उनले भनेका थिए, ‘भिजिट भिसा प्रकरणको छानबिनलगायतका माग राखी लामो समयदेखि प्रतिपक्षी बेञ्चमा रहेका माननीय सदस्यज्यूहरू नियमित बैठकमा सहभागी हुनुभएको छैन । यस सम्बन्धमा सहमतिका लागि म आफैंले सम्भाव्य सबै पहल र संवादको मार्ग अपनाएकोबारे माननीयज्यूहरू जानकार नै हुनुहुन्छ । यसका बाबजुत पनि म आज पनि सहमतिका लागि प्रयत्नशील रहेको छु । तर सदन सुचारू बनाउन सरकार र राजनीतिक दलहरूबीच हुनुपर्ने छलफल र संवाद नभएकोमा चिन्तित छु ।’

उनले बैठक सुरु हुुनासाथ असहमति प्रदर्शन गर्ने र बाहिरिने प्रवृत्ति संस्थागत लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासका दृष्टिले दीर्घकालीन रूपमा हानिकारक सावित हुने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

‘अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्ने प्रयोजनका लागि संघीयतासँग प्रत्यक्ष सम्बन्धित विधेयकहरूलाई पारित गर्ने प्रक्रियामा छौं । यी विधेयकहरूमा सबै माननीयज्यूहरूको गम्भीर र रचनात्मक बहस अपरिहार्य छ। समितिहरूमा जस्तै सभामा पनि संसदको गर्भमा रहेका यी कानूनले सबै माननीयहरूको बहस खोजिरहेको महसुस गरेको छु । आज सम्माननीय प्रधानमन्त्रीले सभामा बोल्नका लागि समय लिनुभएको छ । सबै माननीयहरूलाई बैठकमा सहभागी हुन आग्रह गर्दछु,’ उनले अपिल गर्दै भनेका थिए । तर रास्वपाका सांसदहरू आफ्नो आन्दोलन यथावत् रहेको भन्दै बाहिरिएका छन् ।

बैठकको आकस्मिक समयमा सभामुख घिमिरेले रास्वपाका सांसद गणेश पराजुलीलाई बोल्न समय दिएका थिए । पराजुलीले भारत र चीनबीच लिपुलेक पासबाट द्विपक्षीय व्यापार सुरु गर्ने सहमतिको विरोध गर्दै नेपालले दह्रोसँग कुरा राख्नुपर्ने बताए । उनले अहिलेको सरकारले भारत र चीनसँग आफ्नो कुरा राख्न नसकेको र अहिलेसम्म कुनै धारणा सार्वजनिक नगरेको बताए ।

त्यसपछि राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बोलेका थिए । उनले चीनभन्दा अघि नै नेपाल संयुक्त राष्ट्र संघको सदस्य बनेको भन्दै नेपालले लिपुलेकका सम्बन्धमा आफ्ना अडान राख्नुपर्ने बताए । उनले उखु किसानलाई अनुदान दिन नसक्ने दुई तिहाइको होइन, पोलियो लागेको सरकार भन्दै कडा आलोचना गरे । उनले सरकार छाडे आफूहरुले चलाउने बताए । पराजुली र शाहीले बोलेपछि दुवै दलका सांसद संसदबाट बाहिरिए ।