काठमाडौं । प्रमुख प्रतिपक्ष माओवादीले कुलिङ पिरियडमा भएको चलखेलको घटनामा सभामुख देवराज घिमिरे पनि नैतिक रूपले जिम्मेवार हुनुपर्ने बताएको छ। माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले बुधबार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी विधेयकमा भएको बदमासीको जिम्मा नैतिकरुपमा संसद्को नेतृत्वले लिनुपर्ने प्रष्ट पारेका हुन् ।

माओवादीले यो प्रकरणमा छानविनको मागसमेत गरेको छ । ‘विधेयक कार्यसूचीमा समावेशदेखि पारित गर्ने क्रमसम्म विचार गर्दा यो एकाध व्यक्तिले मात्र गरेको दुस्साहस होइन । यो सुनियोजित तरिकाले गरिएको धृष्टता हो,’ सापकोटाले भने, ‘यसको जिम्मा नैतिक रुपमा संसदको नेतृत्व समेतले लिनुपर्दछ । यस प्रकारको गम्भीर प्रकृतिको संसदीय अपराधको यथाशक्य छिटो छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नुका साथै दोषीमाथि कारबाही गरिनुपर्दछ ।’

माओवादीले यो घटनालाई संसदमाथिको धोका, मानमर्दन र अपमान भनेको छ । यसले सार्वभौम संसदको आत्मामाथि सिधै प्रहार गरेको उसको ठहर छ । ‘यो गम्भीर राजनीतिक, संवैधानिक, कानुनी र नैतिक प्रश्न हो । यसले सार्वभौम संसदको आत्मामाथि सिधै प्रहार गरेको छ । संसदमाथिको धोका, मानमर्दन र अपमान भएको यस घटनाले संविधानको मर्म र भावनामा गम्भीर चोट पुर्याएको छ,’ सापकोटाले भनेका छन्, ‘सुशासनका लागि कोशेढुङ्गा सावित हुने जनताको अपेक्षाविपरीत गम्भीर विश्वासघात हुनुका साथै यस प्रकारको जालसाँजीले संसदीय मूल्य–मान्यतालाई ठाडो चुनौतीसमेत दिएको छ ।’

यो जालसाजीपूर्ण घटनाले सिंगो संसद, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि पनि प्रश्न उठेको माओवादीले दाबी गरेको छ । विधेयक कार्यसूचीमा समावेशदेखि पारित गर्ने क्रमसम्म विचार गर्दा यो एकाध व्यक्तिले मात्र गरेको दुस्साहस नभएके उसको निष्कर्ष छ ।

‘यो सुनियोजित तरिकाले गरिएको धृष्टता हो। यसको जिम्मा नैतिक रुपमा संसदको नेतृत्व समेतले लिनुपर्दछ। यस प्रकारको गम्भीर प्रकृक्तिको संसदीय अपराधको यथाशक्य छिटो छानविन गरी सत्य तथ्य सार्वजनिक गर्नुका साथै दोषीमाथि कारबाही गरिनुपर्दछ,’ सापकोटाले जारी गरेको प्रेस नोटमा भनिएको छ ।