काठमाडौं । अब नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहका लाई ‘युवा’ भनिने भएको छ । मन्त्रिपरिषद् बैठकबाट हालै स्वीकृत राष्ट्रिय युवा नीति–२०८२ मा नेपाली युवाको उमेर १८–३५ वर्ष कायम भएकाले अब सोही समूहकालाई ‘युवा’ भनिने छ ।
यसअघि क्रियाशील रहेको राष्ट्रिय युवा नीति–२०७२ मा युवाको उमेर समूह १६–४० वर्ष थियो ।
परिमार्जित राष्ट्रिय युवा नीतिमा भनिएको छ, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसंख्यालाई युवा मानिनेछ ।’
राष्ट्रिय युवा परिषदका अनुसार ‘राष्ट्रिय रुपमा बालबालिका ऐनले १८ वर्षसम्मकालाई बालबालिका मानेको र अन्तर्राष्ट्रिय परिवेशलाई समेत मध्यनजर गरेर युवाको नयाँ परिभाषा गरिएको हो ।’ युवा नीति २०८२ ले युवालाई सक्षम र जिम्मेवार बनाई राष्ट्र निर्माणमा युवाको सार्थक सहभागिता र भूमिका बढाउने विषयलाई मुख्य ध्येय बनाएको छ ।
यसैगरी युवाको सर्वाङ्गीण विकास गर्नु, राज्यको विकासमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु र राष्ट्रभाव भएको सदाचारी एवम् सुसंस्कृत युवा तयार गरी समुन्नत राष्ट्र निर्माणमा योगदान गर्नुलाई मुख्य लक्ष्य किटान गरेको छ ।
नयाँ युवा नीतिले ‘स्वस्थ, शिक्षित, सकारात्मक सोचयुक्त, नैतिकवान्, उद्यमशील, सिर्जनशील, कर्तव्य तथा दायित्वप्रति निष्ठावान् र अधिकारप्रति सचेत युवा शक्तिको विकास, संरक्षण र परिचालन गर्न’ जोड दिएको छ ।






