काठमाडौ । कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा मनोनयन दर्ता गरेकी छन्। रिक्त सभापति पदमा उनले मनोनयन दर्ता गरेकी हुन् । बुधबार सभापति चयन हुने छ ।

त्यसअघि उनले संसदीय सुनुवाइ समिति सभापति पदबाट राजीनामा दिएकी थिइन् । सभापति पदबाट राजीनामा दिन न्यापौनेसँगै कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र राज्य व्यवस्था समितिका पूर्वसभापति रामहरि खतिवडा सभामुख देवराज घिमिरेको सचिवालय पुगेका थिए ।

संघीय निजामती विधेयकको कुलिङ पिरियड सम्बन्धमा भएको हेरफेरमा सभापतिको नैतिक जिम्मेवारी रहेको छानबिन समितिको प्रतिवेदनपछि खतिवडाले पदबाट राजीनामा दिएका थिए । अब खतिवडालाई न्यौपानेले राजीनामा दिएर रिक्त रहेको संसदीय सुनुवाइ समिति सभापति बनाउने चर्चा छ ।