काठमाडौँ । नबिल बैंक लिमिटेडको प्रमुख संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेन्योरसिप’ (नबिल एसएसई) ले स्थापनाको पाँच वर्ष पूरा गरेको छ।

सन् २०२१ नोभेम्बर २६ मा सुरु भएको कार्यक्रमले पाँच वर्षको अवधिमा १ हजार ५८० जनालाई उद्यमशीलतासम्बन्धी ज्ञान तथा सीप प्रदान गरेको छ।

ADVERTISEMENT

बैंकका अनुसार कार्यक्रमबाट हालसम्म ३१८ वटा सामाजिक उद्यम स्थापना भएका छन् भने १९ हजार ३०३ भन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना भएका छन्।

ADVERTISEMENT

सामाजिक समस्या पहिचान गरी उद्यमशीलताको माध्यमबाट दिगो समाधान खोज्ने उद्देश्यसहित सुरु गरिएको नबिल एसएसईले युवालाई ज्ञान, सीप, मार्गदर्शन र व्यावसायिक सञ्जाल उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ।

कार्यक्रमले नवीन सोचलाई व्यावहारिक तथा दिगो उद्यममा रूपान्तरण गर्न सहयोग गर्दै आएको छ। नबिल एसएसईअन्तर्गत सञ्चालित फेलोसिप र सर्टिफिकेट कोर्सबाट हालसम्म १ हजार ५८० जना लाभान्वित भएका छन्।

फेलोसिप कार्यक्रमका छ समूहबाट ११३ जना प्रशिक्षित भएका छन्। उनीहरूको नेतृत्वमा ९३ वटा उद्यम स्थापना भएका छन्। त्यस्तै, विभिन्न शैक्षिक संस्थासँगको सहकार्यमा सञ्चालित सर्टिफिकेट कोर्सबाट १ हजार ४६७ जना लाभान्वित भएका छन्, जसबाट २२५ वटा उद्यम स्थापना भएका छन्।

कार्यक्रमले व्यवसाय स्थापना गर्ने सीपसँगै सामाजिक समस्या समाधानलाई उद्यमशीलताको केन्द्रमा राख्दै आएको छ। सहभागीले व्यावसायिक मोडल विकास, नेतृत्व क्षमता, वित्तीय व्यवस्थापन, बजार विस्तार, सामाजिक प्रभाव मापन, लगानी आकर्षण र उद्यम सञ्चालनका विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गर्दै आएका छन्।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले पाँच वर्षको यात्राले सामाजिक उद्यमशीलतामार्फत दिगो परिवर्तन सम्भव रहेको पुष्टि गरेको बताए।

उनका अनुसार सही ज्ञान, मार्गदर्शन र अवसर प्राप्त हुँदा युवाले आफ्ना नवीन सोचलाई सफल उद्यममा रूपान्तरण गरी समुदाय र राष्ट्रको विकासमा योगदान दिन सक्छन्।

उनले आगामी दिनमा पनि सामाजिक उद्यमशीलताको प्रवर्द्धनमार्फत समावेशी आर्थिक विकास र दिगो सामाजिक रूपान्तरणका लागि बैंक प्रतिबद्ध रहने बताए।

नबिल एसएसईबाट प्रशिक्षित उद्यमीले स्थानीय स्रोत, सीप र प्रविधिको उपयोग गर्दै सामाजिक, आर्थिक तथा वातावरणीय चुनौतीको समाधान खोजिरहेका छन्।

स्थानीय कृषि उत्पादनको प्रवर्द्धन तथा बजारीकरण, अनुभवमा आधारित पर्यटन, ड्रोन प्रविधि, स्थानीय कारीगरका उत्पादन, सूचना प्रविधिमार्फत रोजगारीमा पहुँच विस्तार तथा युवा र विद्यार्थीको मानसिक स्वास्थ्य प्रवर्द्धनलगायतका क्षेत्रमा उद्यम सञ्चालन भइरहेका छन्।

त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालित नबिल एसएसई फेलोसिप छ महिनाको क्षमता विकास कार्यक्रम हो। यसमा आवासीय सिकाइ, विशेषज्ञ परामर्श, क्षेत्र अध्ययन, सहकर्मी सिकाइ, व्यावसायिक मोडल विकास तथा लगानीकर्तासमक्ष व्यावसायिक योजना प्रस्तुत गर्ने अभ्यास समावेश छन्।

पाँच वर्षको अवधिमा कार्यक्रमले विभिन्न भूगोल, समुदाय र क्षेत्रका उद्यमीलाई एउटै प्लेटफर्ममा जोडेको बैंकको भनाइ छ। आगामी दिनमा कार्यक्रमको प्रभाव र दायरा विस्तार गर्दै थप उद्यमीलाई समेट्ने लक्ष्य राखिएको छ।

बैंकका अनुसार हाल फेलोसिप कार्यक्रमको सातौँ समूहका लागि छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने साझेदार शैक्षिक संस्थामार्फत नयाँ सर्टिफिकेट कोर्स समूह सञ्चालन भइरहेका छन्।

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलता, रोजगारी सिर्जना र दिगो विकासलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।